२०८३ साउन २१ गते बिहीबार

यस वर्षको यमपञ्चक आजदेखि शुरू, यमदीपदान भने भोलीबाट

यस वर्षको यमपञ्चक आजदेखि शुरू, यमदीपदान भने भोलीबाट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १३ गते मंगलबार ०९:१४

आज धनतेरस अर्थात् धनत्रयोदशी मनाइँदैछ । धनतेरसका दिन सुनचाँदीलगायतका गहना, सिक्का किन्ने चलन छ । यो दिन नयाँ गहना वा भाँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ ।

पोखरा ।

हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने यमपञ्चक अर्थात् नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

आज बिहान ११ बजेर एक मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक आजदेखि शुरू भएको हो ।

आज धनतेरस अर्थात् धनत्रयोदशी मनाइँदैछ । धनतेरसका दिन सुनचाँदीलगायतका गहना, सिक्का किन्ने चलन छ । यो दिन नयाँ गहना वा भाँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ ।

यसवर्षको यमदीपदान भोलि अर्थात् बुधवारदेखि शुरू हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

काग तिहार भोलि परेको छ भने धनवन्तरी जयन्ती पनि भोलि बुधबार नै परेको छ । तिथिको घटबढका कारण पर्सि बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।

बिहीबार अरुणोदयकालमा स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ ।

बिहीबार दिउँसो तीन बजेर १४ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि त्यसै दिन गर्नुपरेको समितिले जनाएको छ ।

गाईगोरुपूजा कात्तिक १७ गते शनिवार परेको छ । गोवर्द्धन पूजा र आत्म (म्ह) पूजा पनि त्यसैदिन परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष नेपाल संवत् ११४५ पनि शुरू हुनेछ ।

कात्तिक १८ गते आइतबार यसवर्षको भाइटीका मनाइँदैछ । बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको शुभसाइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

किजापूजा पनि कात्तिक १८ गते नै गरिन्छ ।

 

प्रकाशित मिति २०८१ कात्तिक १३ गते मंगलबार ०९:१४
हजुरको प्रतिक्रिया