बागलुङ ।
तीन वर्षदेखि अलपत्र परेको सालझण्डी–ढोरपाटन सडक आयोजनाको काम सुरु भएको छ ।
आयोजना अन्तर्गत बागलुङको बुर्तिबाङ बजारदेखि फल्लेघरसम्मको २२ किलोमिटर सडकको निर्माण जिम्मा पाएको कम्पनीले काम नगर्दा अलपत्र परेको काम बुधबारदेखि सुरु भएको हो ।
वि.सं. २०७८ कार्तिक ५ गते निर्माण कम्पनीले ३० महिनामा सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेल गर्ने गरि जिम्मा लिए पनि हालसम्म २५ प्रतिशत मात्रै काम गरेको छ । स्वच्छन्द÷ओमबुद्ध जेबी काठमाडौँले म्याद सकिदासम्म पनि काम नगरेपछि उक्त निर्माण कम्पनीसँग सम्झौता तोडेर हिरादेवी कन्ट्रक्सनलाई जिम्मा दिएको साझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ ।
हिरादेवी कन्ट्रक्सनले जिम्मा पाएपछि धमाधम काम सुरु गरेको छ । स्वच्छन्द÷ओमबुद्ध जेबीलाई आगामी पौष मसान्तसम्म ग्याद थप गरे पनि काम गर्न नसक्ने भएपछि नयाँ निर्माण कम्पनीलाई जिम्मा दिएको हो । निर्माणको जिम्मा पाएको हिरादेवी कन्ट्रक्सनका प्रतिनिधि डाल बहादुर कुवँरले आवश्यक मेसिनरी सामग्री, मेसिन लगायतको व्यवस्थापन भइरहेका कारण अब धमाधम काम हुने बताए ।
गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवरले लामो समयदेखि सडक अलपत्र पर्दा ढोरपाटन आउने हजारौँ पर्यटक र स्थानीयले सास्ती खेप्नु परेको बताए । अघिल्लो वर्षनै सम्पन्न हुने सडक हालसम्म आधा पनि काम नहुनु दःख विषय रहेको भन्दै निर्माण व्यवसायी र आयोजना कार्यालयलाई बारम्बार दबाव दिएपछि अहिले काम सुरु भएको उनको भनाइ छ ।
राष्ट्रिय प्राथमिकताको आयोजनाको रुपमा रहेको सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष पूरा भयो । तराई क्षेत्रलाई नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसहित पहाडी जिल्ला जोड्नका लागि यो सडक निर्माण गरिएको हो ।
वि.सं. २०६८ सालमा रुपन्देहीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको छ । रुपन्देही, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन सकेको छैन ।
प्रकाशित मिति २०८१ मंसिर ८ गते शनिबार ०४:२६




