पोखरा ।
लेखनाथ नेवा खलको आह्वान एवं लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव हुने भएको छ ।
आगामी पुस ६ गते पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा यःमरी उत्सव गरिने भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवं कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुुका श्रेष्ठले जानकारी दिइन् ।
नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गरिएको उनले बताइन् ।
संरक्षणको अभावमा संस्कार र संस्कृति हराउँदै गएको भन्दै उनले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्ना गर्नका लागि लेखनाथ क्षेत्रमा पहिलोपटक यो उत्सव गर्न लागिएको पनि जानकारी गराईन् ।
उत्सवका अवसरमा विशेषतः यःमरीसँगै समयवजी जस्ता नेवाः संस्कृतिसँग जोडिएका परिकारहरू उपलब्ध गराइने उनको भनाइ छ ।
लेखनाथ नेवा खलःका संस्थापक अध्यक्ष प्रेम लिगलले प्राचीन संस्कार र संस्कृतिहरू सभ्यताका पहिचान भएको बताउँदै यिनीहरूको प्रवद्र्धन गर्दै युवा पुस्तामाझ हस्तान्तरण हुनुपर्ने आवश्यकता औंल्याए ।
यःमरी पुन्हीका अवसरमा खाइने नेवारी परिकार यःमरीको नेवारी संस्कृतिमा विशिष्ट महत्व रहेको उनले बताए ।
गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले प्राचीन कालदेखि लेखनाथका विभिन्न स्थानमा नेवार समूदाय बस्दै आएको बताउँदै हाल लेखनाथका विभिन्न नौवटा इकाईमा नेवाःसमूदाय संगठित बनेको जानकारी दिए ।
उनका अनुसार लेखनाथ क्षेत्रमा मात्रै करिब २४५ घरधुरी नेवार समूदायका छन् ।
कार्यक्रममा लेखनाथ क्षेत्रमा नै पहिलोपटक गरिएको यो उत्सवले नेवाः संस्कृतिको जगेर्नाका साथै पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।
प्रकाशित मिति २०८१ मंसिर २४ गते सोमबार ०९:३८




