गोरखा ।
गोरखा बारपाक सुलिकोट गाउँपालिकाकी १८ वर्षीया सुचिना घले हत्याका आरोपित पक्राउ परेका छन् ।
घले हत्याका अभियुक्त छिमेकी मन सम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गोरखामा मंगलबार पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरिएको छ । गत शनिबार घाँस काट्न हिँडेकी सुचिनालाई एक्लो अवस्थामा देखी करणी गर्न खोज्दा आक्रमण र प्रतिकार गर्ने क्रममा हत्या गरेको मन सम्जेर गुरुङले बयान गरेको जिल्ला प्रहरी कार्यालय गोरखा प्रमुख एसपी बासुदेव पाठकले जानकारी दिए ।
सुचिनाको हत्या गरेर माटोमा गाडेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शव परीक्षणका लागि फरेन्सिक मेडिसिन बिभाग, त्रि.बि. शिक्षण अस्पताल पठाईएको थियो । युवती मङ्गलबार बिहान घरबाट घाँस काट्न भनी हिँडेको तर घर फर्की नआएपछि स्थानीय प्रहरी चौकी बारपाक र ईलाका प्रहरी कार्यालय जौवारीद्धारा खोजतलास शुरु गरिएको थियो ।
हराएको ३ दिन पश्चात दिउँसो मैखर्क जंगलमा खाल्डो खनी पुरिएको अवस्थामा शव फेला परेपछि तत्कालै जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी इन्द्र प्रसाद सुवेदीको कमाण्डमा अनुसन्धान टोली तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट केनाईन (तालिम प्राप्त कुकुर) टिमले घटना स्थलको सुक्ष्म अनुसन्धान गर्न खटाईएको थियो ।
प्रकाशित मिति २०८१ मंसिर २५ गते मंगलबार ०७:१५




