गोरखा।
बलात्कारको प्रयासमा प्रतिकार गर्न खोज्दा हत्या गरिएकी बारपाक सुलिकोट गाउँपालिका–१ बारपाककी १८ वर्षीया सुचिना घलेको शव उनका आफन्तले बुझेका छन् । मृत भेटिएकी १२ औँ दिनमा हत्या गरेको दोषी पत्ता लागेपछि बुधबार उनका आफन्तले शव बुझेका हुन् । आरोपी ४२ वर्षीय मन सम्जेर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएपछि परिवारले शव बुझेका हुन्।
उनको पार्थिव शरीरलाई स्थानीय धार्मिक परम्परा अनुसार काशीगाउँका माइतीपक्ष र बारपाकका स्थानीयहरुले शव बुझेर बिहीबार अन्त्येष्टि गर्ने काम गरेको वडा नंं. १ का वडाध्यक्ष धनबहादुर घलेले जानकारी दिए।
सुचिनाको आत्माले शान्ति पाओस् भनी गाउँका मुख्य लामाले गुम्बामा १०८ बत्ती बाल्ने, चिहानडाँडामा सुचिनाको नाममा माने बनाई लामाले विधिपूर्वक पूजा प्रार्थना गरि आगामि दिनमा यस्ता दुखद घटना नहोओस् भनी शान्तिको कामना गरिने उनले बताए ।
गत मंसिर १५ गते शनिबार घाँस काट्न जंगल गएकी घले १८ गते मंसिरमा जंगलमा वीभत्स रुपमा जंगलमा गाडिएको अवस्थामा मृत भेटिएपछि अपराधीको पत्ता लगाउनुपर्ने माग राख्दै आफन्तले उनका शव बुझ्न अस्वीकार गरेका थिए । शव भेटिएसँगै प्रहरीले पोष्टमार्टमका लागि फरेन्सीक मेडिसिन बिभाग त्रिभुवन शिक्षण अस्पताल पठाईएको थियोे । प्रहरीले हत्याको आशंका र केही प्रमाणसमेतका आधारमा सोही ठाउँका ४२ वर्षका गुरुङलाई घटनामा संलग्न रहेको भन्दै पक्राउ गरेको थियो । पक्राउपछि सोधपुछको क्रममा उनले हत्या गरेको स्वीकार गरेका थिए । उनले बयानका क्रममा सूचिनालाई बलात्कारको प्रयास गरेको बताएका छन् ।
सूचिनाले प्रतिकार गर्न थालेपछि मन शम्जेरले मुखमा घाँस, गोबर र माटो कोचेर हत्या गरेको प्रहरीसँग बताएका छन् ।आरोपीले स्वीकार गरेपछि प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी दोषीलाई सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति २०८१ मंसिर २७ गते बिहीबार ०२:०५




