गोरखा ।
गोरखाको इतिहास अध्ययन गर्ने थलोका रूपमा चिनिँदै आएको गोरखा दरबार संग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ । शैक्षिक भ्रमणको याम शुरू भएसँगै संग्रहालयमा गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको अत्याधिक चाप बढेको हो । नेपाल एकीकरणको उद्गम थलोको रूपमा परिचित गोरखा दरबार संग्रहालयमा शाहकालीन इतिहास बुझ्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । चालु वर्ष २०८१ को मंसिर महिनामा मात्रै २१ हजार बढी आन्तरिक तथा बाह्य पर्यटकले गोरखा संग्रहालय अवलोकन गरेका छन् ।
मंसिर महिनामा मात्रै २१ हजार २ सय १ जनाले गोरखा दरबार संग्रहालय अवलोकन गरेको कार्यालयले प्रस्तुत गरेको मासिक तथ्यांकमा उल्लेख गरिएको छ। जसमध्ये देशभरका विभिन्न विद्यालयबाट १२ हजार ५ सय ५९ जना बिद्यार्थी रहेको र बिद्यार्थी वाहेक ८ हजार २ सय ७७ जना नेपाली पर्यटक, सार्क राष्ट्रभित्रका १३ जना पर्यटक र ३ सय ५२ जना बिदेशी पर्यटक रहेको तथ्यांकमा उल्लेख छ।
यसबाट ३ लाख ७३ हजार ७ सय ६५ रुपैया राजश्व रकम संकलन भएको छ । आर्थिक वर्ष २०८१ साउन देखि मंसिर मसान्त सम्म ५३ हजार ८४ जनाले संग्रहालय अवलोकन गरेको छ । जस अन्तर्गत साउनमा ६ हजार ७०६ जना, भदौमा ५ हजार ५८६ जना, असोजमा ४ हजार १३० जना र कात्तिकमा १५ हजार ४६१ जनाले संग्रहालयको अवलोकन गरेको कार्यालयको तथ्यांक छ। साउन यता पाँच महिनाको अवधिमा आएका पर्यटकहरुबाट १० लाख ९२ हजार ६३० रुपैयाँ राजश्व संकलन भएको छ ।
मुख्य गरी हरेक वर्षको कात्तिकदेखि पुससम्मको अवधि शैक्षिक भ्रमणका लागि उपयुक्त मानिन्छ। तल्लो दरबारको नामले चिनिने गोरखा संग्रहालय भएको भवन आफैँमा पनि परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेकाले त्यसको अवलोकनसमेत शैक्षिक भ्रमणमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
संग्रहालयमा पृथ्वीनारायण शाहको ५२ हात लामो चिनासहित तैलचित्र कक्ष, वंशावली कक्ष, जन्मकुण्डली कक्ष, दिव्योपदेश कक्ष, हातहतियार कक्ष, धार्मिक परम्परागत कक्ष, जनजातिको झाँकी कक्ष, परिचयात्मक कक्ष, भाँडावर्तन कक्ष, श्रव्यदृश्य कक्ष, चैत्य कक्ष र हस्तलिखित गरी १२ प्रदर्शनी कक्षसमेत प्रदर्शनीका लागि राखिएको छ।
संग्रहालय अवलोकनका लागि बिद्यार्थीको हकमा १० रुपैया, नेपाली पर्यटकका लागि २५, बिदेशी पर्यटकको हकमा सार्क राष्ट्रका नागरिकका लागि ५० र अन्य देशका नागरिकका लागि १०० रुपैया प्रवेश शुल्क रकम तोकिएको छ ।
प्रकाशित मिति २०८१ पुस २ गते मंगलबार ०३:४२




