गोरखा ।
पृथ्वीजयन्तीको अवसरमा गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले आउँदो पुस २१ गते देखि २७ गतेसम्म गोरखा–काठमाडौं ऐतिहासिक पदयात्रा गर्ने भएको छ । बिगत पाँच बर्ष अघिदेखि नेपाली सेनाको रिपुमर्दन गणले विभिन्न पालिकाको समन्वयमा एकीकरण पदयात्रा गर्दै आएको छ । सेनाले विगतका वर्षमा झैँ यस वर्ष पनि पुस २१ गते राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर एकीकरण मार्गमा पदयात्रा गर्न लागेको हो ।
पृथ्वीनारायण शाहकालीन पोशाकमा सजिएका सेनाले पृथ्वीनारायण शाहले स्थापना गरेका श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरखगण, बर्दबहादुर गण र सबुज गणको झण्डा, राष्ट्रिय झण्डा र टर्चसहित एकीकरण पदयात्रा नेपाली सेनाले गर्न लागेको हो ।
पुस २१ गते गोरखाबाट हिँडेको टोलीले सोही दीन धादिङको घाटबेंसीमा शिवदल गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्ने नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए । उनले धादिङ–नुवाकोट हुँदै पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा हनुमान ढोकामा आयोजित राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुने बताए ।
नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गराउन नेपाली सेनाले पाँच वर्षअघिबाट पदयात्रालाई निरन्तरता दिँदै आएको छ ।
प्रकाशित मिति २०८१ पुस ४ गते बिहीबार ०४:०४




