गोरखा ।
गोरखाको हरमटारीमा सोमबार देखि चौथो गोरखकाली मेला २०८१ सुरु भएको छ । हरमटारी क्लबको आयोजनामा भएको मेलाको एक कार्यक्रमका बिच गण्डकी प्रदेशसभा सदस्य तथा गण्डकी प्रदेश सरकारको प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेले उद्घाटन गरेका हुन् ।
आन्तरिक तथा बाह्य क्षेत्रमा जिल्लाको पहिचानलाई प्रचारप्रसार गर्न, गोरखाको वीरता र गाथाको प्रष्फुटन गर्न, स्थानीय क्षेत्रमा उत्पादन भएका कृषि उपजको बिक्री वितरणको लागि बजारको व्यवस्था गर्न, पर्यटकीय गन्तव्यहरुको खोजी गरी प्रचारप्रसार गर्न मेलाको उदेश्यलाई सम्मान रहेको बताउँदै सचेतक न्यौपानेले भविष्यमा पनि यस्ता राम्रो उद्देश्य बोकेर हुने मेलालाई प्रोत्साहन गर्नुपर्ने बताए ।
मेलामा एक सय वटा स्टल रहेका छन् । स्टलमा भाँडाकुँडा, खाद्यान्न, खानाका स्टल, लत्ता कपडा रहेका छन् । अहिले जाडो मौसम भएकाले बाक्ला लुगा र सिरक, ब्ल्याङ्केट बिक्री स्टल धेरै रहेको छ । पहिलो दिन ती पसलहरुमा सर्वसाधारणको भिड लागेको थियो । मेला सुरु हुनु अघि जातिय भेषभुषा झल्कने झाँकी, ¥यालीले गोरखा बजार परिक्रमणा पछि गोरखा नगरपालिका– ६ हरमटारी स्थित रङ्गशाला खेलकुद मैदानमा मेला सुभारम्भ गरिएको क्लवका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।
मेलाको पहिलो दिन राष्ट्रिय कलाकार रमेश श्रेष्ठ मेलोडी, हरी राम परियार, बन्दना पाण्डे लगायतले प्रस्तुति दिने क्लवले जानकारी दियो । मेलामा बाल उद्यानका सामग्रीसँगै घरेलु औजार र उत्पादनका बस्तु पनि बिक्रीका लागि राखिएको छ । १८ गतेसम्म चल्ने मेलामा करिब ३० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ भने मेलामा प्रवेश टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ रहेको छ ।
प्रकाशित मिति २०८१ पुस ८ गते सोमबार ०४:०७




