बागलुङ ।
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ ।
पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान स्वरुप भकुण्डेलाई बिहीकार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व पर्यटन मन्त्री दिपेन्द्रबहादुर थापाले शिक्षा विकासको पहिलो सूचक भएको हुँदा यसलाई पुरा गर्नु पर्नेमा जोड दिए । शिक्षालाई गुणस्तरीय, व्यवहारीक र जीवनउपयोगी बनाउनु पर्ने भन्दै तीनै तहका सरकारको प्राथमिकतामा शिक्षा क्षेत्र पर्नु पर्ने उनको भनाइ छ ।
समय सापेक्ष शिक्षा क्षेत्रको नीति परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । अब व्यवस्थित र आवसीयसहित थोरै विद्यालय भए शिक्षालाई गुणस्तरीय बनाउन सकिने उनको भनाइ छ । पछिल्लो समय गाउँका विद्यालय रित्तिने र बजारका भरिने गरेकोमा थापाले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले आफूहरु निर्वाचित भएर आएपछि पहिलो निर्णय अनुसार नगरपालिकालाई पौष मसान्तसम्ममा बालमैत्री नगर घोषणा गर्न थालिएको बताए । नगरपालिकाका सबै वडा बिहीबार बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको उनको भनाइ छ ।
उपप्रमुख राजु खड्काले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरि रहेको बताए । पौष मसान्तसम्म नगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिने उनको भनाइ छ । नगरपालिकाले ५१ वटै सूचक पुरा गरि सकेको हुँदा सबै वडा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको बताए ।
घोषणा पूर्व स्थानीयवासी, जनप्रतिनिधी, विद्यार्थी, शिक्षक, अभिभावक लगाएतको सहभागीतमा भजन किर्तन, पञ्चेवाजा, झाँकी सहितको ¥याली प्रदर्शन गरिएको थियो ।
प्रकाशित मिति २०८१ पुस १८ गते बिहीबार ०७:१४




