पोखरा ।
कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) र गण्डकी प्रदेशबिच गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकाससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र जाइका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे।
कोरियाली सरकारमार्फत कोइकाले यो परियोजनाका लागि ९ मिलियन अमेरिकी डलर खर्च गर्नेछ। परियोजना सन् २०२५ बाट सुरु भई ५ वर्षसम्म सञ्चालन हुने छ। यो परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन्। स्याङ्जाको फेदीखोलामा निर्माण गरिने भवनको आजै शिलान्यास हुनेछ ।
कार्यक्रममा गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास मन्त्री बिन्दुकुमार थापा, कोईका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङ र फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी सहभागी थिए ।
यो परियोजनाले घरेलु तथा अन्तर्राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्षम जनशक्ति उत्पादन मद्दत पुग्ने विश्वास छ । प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम नीति र १५औं राष्ट्रिय योजनासँग समन्वय गर्दै निर्माण क्षेत्रको आवश्यकता पूरा गर्न र रोजगारको अवसर बढाउन सहयोग पुराउने लक्ष्य राखिएको छ ।
कोईकाले ४ हजार ६३० वर्गमिटरको प्राविधिक शिक्षालय भवन निर्माण गर्ने योजना बनाएको छ। यसमा कक्षाकोठा, कार्यशाला, छात्रावास (महिला छात्राका लागि) लगायतका आवश्यक उपकरण, फर्निचर, र शैक्षिक सामग्री हुनेछन्। साथै, कोइकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, स्थानिय आवश्यकता अनुरूप छोटो समय तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्नेछ।
मुख्यमन्त्री पाण्डेले परियोजनाले नेपाललाई आर्थिक समृद्धि हासिल गर्न आवश्यक दक्ष र सक्षम जनशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गरे।
प्रकाशित मिति २०८१ पुस १९ गते शुक्रबार ०१:१२




