पोखरा ।
आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ पुत्रका रूपमा पृथ्वीनारायण शाहको जन्म वि.सं.१७७९ पुस २७ गते गोरखामा भएको थियो ।
वि.सं.१७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए ।
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले वि.सं.१८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यका विजय हासिल गरेका थिए ।
नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको आज सम्झना गरिँदैछ । तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय पृथ्वीनारायण शाहलाई छ ।
१८२५ माघे संक्रान्तिका दिन नुवाकोटको देवीघाटमा ५२ वर्षको उमेरमा उनको निधन भएको थियो ।
यो अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिँदैछ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।
प्रकाशित मिति २०८१ पुस २७ गते शनिबार ०९:३५




