गोरखा ।
गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट शुभसाइत गरी बाजागाजा मङ्गलधुन स्वस्तिक वाचनसहित भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ।
धार्मिक तथा सांस्कृतिक महत्वको गोरखाको गोरखनाथ कालिका मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले गोरखा नगरपालिका र होटल ब्यवसायी संघ गोरखाको समन्वयमा राष्ट्रिय गौ संरक्षण संघ गोरखाले आज बिहान गोरखपुरका लागि ‘खिचडी यात्रा’ सुरु गरेको गौमाता सेवा महासङ्घ गोरखाका अध्यक्ष होमसिंह बस्न्यातले जानकारी दिए ।
बस्न्यातका अनुसार माघी पर्वका अवसरमा प्राचीनकालदेखि नै गोरखनाथ मन्दिरबाट गोरखपुरको गोरखनाथ मन्दिरमा खिचडी पठाउने प्रचलन भएता पनि २० वर्षभन्दा बढी समयदेखि रोकिएको उक्त परम्परा गत वर्षदेखि पुनः निरन्तरता दिइएको उनले बताए ।
साथै उनले गोरखपुरको गोरखनाथ मन्दिरमा माघी पर्वका ब्रह्ममूर्तको समयमा खिचडी चढाएपछि मात्रै खिचडी भोग गर्ने परम्परा रहेको बताउँदै खिचडी पुर्याउने परम्पराको पुनः थालनी गरेसँगै भारतको उत्तर प्रदेश र गोरखाबीचको धार्मिकसम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखामा धार्मिक पर्यटक बढाउन सकिने अध्यक्ष बस्न्यातको भनाइ छ। गोरखाबाट गएको खिचडीमा गाईको ध्यू, चामल र दाल काँचो रहेको छ । परम्परा अनुसार गोरखपुरको गोरखनाथमा गोरखाबाट लगिएको खिचडी पहिलो पटक पकाएर गुरु गोरखनाथलाई प्रसादको रुपमा चढाएपछी मात्र अन्य स्थानको खिचडी चढ्ने गर्दछ । यात्रामा गोरखा नगरपालिकाका केही वडाध्यक्षका सहित ६० जना सहभागी छन् । गोरखाबाट लगेको खिचडी गोरखपुरको गोरखनाथमा चढाएपछी यात्रामा गएका सबै जना मंगलबार गोरखा फर्कने कार्यक्रम रहेको राष्ट्रिय गौ संरक्षण संघ गोरखाले जानकारी दिएको छ ।
हजुरको प्रतिक्रिया




