काठमाडौं ।
विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापनाका लागि योजना स्वीकृत गरेको छ ।
प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले क्षतिको विस्तृत यथार्थ मूल्याङ्कन गरी यही पुस २१ गते भएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकको निर्णयको सिफारिसबमोजिम क्रियाकलापसहितको उक्त योजना स्वीकृत गरेको हो ।
बैठकका निर्णयहरुबारे जानकारी गराउँदै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा. भीष्मकुमार भुषालले आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता प्रक्रिया प्रारम्भ गरी पुनःनिर्माण थानली हुने निश्चित भएको बताए ।
क्षतिको विस्तृत आँकलन (डिडिए) नभएका क्षेत्रमा सोही दिनदेखि डिडिएको प्रक्रिया प्रारम्भ गर्ने निर्णय भएको पनि जानकारी दिए ।
बैठकले योजना बमोजिमका क्रियाकलापको कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहले आग्रह गर्ने र मन्त्रालयले सम्बन्धित निकालाई यथाशिघ्र निकासा दिने गरी प्रबन्ध गर्न निर्देश गरेको छ ।
बैठकले २०८० सालमा संखुवासभालगात जिल्लामा बाढीजन्य विपद्मा परी बेपत्ता तथा मृत्यु भएका व्यक्तिका परिवारलाई २०८१ का असार ३१ गते मन्त्रिपरिषद्को निर्णयबमोजिम नै हुनेगरी राहत उपलब्ध गराउन प्राधिकरणलाई निर्णय दिइएको छ ।
यसका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने छ ।
विपद्मा परी बेपत्ता भएकाहरु १० दिनसम्म फेला नपरेका तत्कालीन समयमा विवरण सङ्कलन भएका परिवारलाई मृतकका सरह राहत उपलब्ध गराउने निर्णय २०८१ का असार ३१ गते मन्त्रिपरिषद्को गरेको थियो ।
बैठकले प्राधिकरणका लागि आवश्यक जनशक्तिको प्रबन्ध गर्ने पनि निर्णय गरेको छ ।
प्रकाशित मिति २०८१ पुस २९ गते सोमबार ०९:५९




