बागलुङ ।
अत्याधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन् ।
पछिल्लो केही दिनयता अत्यधिक चिसो बढेपछि पौष २६ गतेदेखि उपत्यकाका छ विद्यालय बन्द भएका हुन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनमा पर्ने उक्त विद्यालयहरु अब माघको तेस्रो साता मात्रै खुल्ने छन् ।
अत्यधिक चिसो बढेपछि पाखाथर स्थित ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथान स्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मस स्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखे स्थित ढोरबहारा प्राथमिक विद्यालय बिहीबारदेखि बन्द भएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले जानकारी दिए ।
जनवादी आधारभूत विद्यालय भने घुम्ती पढाईका लागि ढोरपाटन नगरपालिका–९ बोबाङमा झरेको उनको भनाइ छ । घुम्ती पढाईका लागि जनवादी आधारभूतका विद्यार्थी बेसी झरेको घिमिरेले जानकारी दिए । विद्यालय चिसो घटेपछि माघ २० गतेदेखि मात्रै संचालन हुने उनको भनाइ छ । चिसोले विद्यार्थी कठ्याङग्रिएर पढ्न नसक्ने हुँदा बिदा गरिएको उनले बताए ।
जनवादी आधारभूत विद्यालय बोबाङबाट अहिले पनि संचालन हुने हुँदा बर्खामा बिदा हुँदैन । ढोरपाटनका विद्यालयहरुमा करिब ३०० बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ । ज्योति विकास माध्यमिक विद्यालय प्रधानाध्यापक चकबहादुर अदैले चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालय बन्द भएको बताए ।
यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरुलाई चिसोबाट बचाउनका विद्यालय बन्द गर्नुको विकल्प नभएको अदैको भनाइ छ । ठाउँ चिसो र त्यसमाथि सिमेन्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उनले बताए ।
प्रकाशित मिति २०८१ पुस २९ गते सोमबार ०५:२८




