२०८३ साउन २१ गते बिहीबार

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीको सनाखत

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीको सनाखत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ११ गते शुक्रबार ०७:०१

रेल दुर्घटनामा अछामकै कमलबजारकी ६० वर्षीया कला कामी र बाँकेको डुँडुवाको ३२ वर्षीय राधेश्याम राधको ज्यान गएको छ ।

पोखरा ।

भारतमा रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीको परिचय खुलेको छ ।

गएको बुधवार बेलुकी महाराष्ट्रको जलगाउँ जिल्लाको परधाडे स्टेशन नजिकै रेल दुर्घटना हुँदा ७ जना नेपालीसहित १२ जनाको ज्यान गएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार रेल दुर्घटनामा ज्यान गुमाउने नेपालीहरूमा कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी तथा अछामको मंगलसेनका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा रहेका छन् । यस्तै रेल दुर्घटनामा अछामकै कमलबजारकी ६० वर्षीया कला कामी र बाँकेको डुँडुवाको ३२ वर्षीय राधेश्याम राधको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका ४ नेपालीमध्ये ३ जनाको स्थानीय अस्पताल र १ जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । ज्यान गुमाएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको खबर फैलिएपछि यात्रु रेलबाट हाम फालेका थिए । रेलवे अधिकारीका अनुसार पुष्पक एक्सप्रेसमा सवार यात्रुले रेलको पांग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले लिकमै हाम फालेका थिए । त्यस क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले उनीहरूलाई किचेको थियो ।

प्रकाशित मिति २०८१ माघ ११ गते शुक्रबार ०७:०१

हजुरको प्रतिक्रिया