पोखरा ।
सर्वोच्च अदालतको आदेश कार्यान्वय गर्न माग गर्दै पोखरा महानगरका स्वास्थ्य तर्फका हटाइएका करार कर्मचारीले महानगरको कार्यालय गेटमा धर्ना दिएका छन् ।
सर्वोच्च अदालतले पक्षमा अल्पकालीन आदेश जारी गरेपछि कर्मचारीहरु थमौती माग्दै महानगर पुगेका हुन् । माघ १ देखि पदमुक्त भएका कर्मचारीले माघ ११ गते सर्वोच्च अदालत गुहारेका थिए । अदालते १३ गते कर्मचारी अनिता गिरीसमेतले दायर गरेको रिटमा तत्काल कर्मचारी नहटाउन अल्पकालीन आदेश दिएको थियो ।
अदालतले महानगरको २०८१ मंसिर २८ गते करारका कर्मचारी हटाउने निर्णय तत्काल कार्यान्वय नगर्न यथास्थितिमा राख्नु भनि आदेश दिएको थियो । विगत १७ वर्षदेखि करारमा काम गरिरहेका कर्मचारी महानगरको कार्यपालिकाको निर्णयपछि ६१ जना कर्मचारी सेवाबाट निकालिएका छन् ।
हटाइएका कर्मचारीले अदालतको निर्णय कार्यान्वय गर्न र काममा फर्कने वातावरण बनाउन माग गदैँ महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसंग भेटेका थिए । तर अदालतको आदेश कार्यान्वयन गर्ने तर्फ महानगरले कुनै ध्यान नदिएको भन्दै दवावका कार्यक्रम गर्न बाध्य भएको जनाएका छन् ।
२८ मंसिरको विशेष नगर सभाले करारका कर्मचारी माघ १ देखि नवीकरण नगर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार महानगरले ४ माघमा करार कर्मचारीको नवीकरण नगरेको पत्र थमाएको थियो ।
नयाँ कर्मचारी नियुक्ती नभइसकेको अवस्थामा करारका कर्मचारी पनि नहुदाँ महानगर मातहतका स्वास्थ्य संस्थाहरुको सेवा समेत प्रभावित भएको छ । गएको मंसिरमा भएको विशेष नगरसभाको निर्णय कार्यान्वय गदैँ महानगरले करारका कर्मचारी हटाउने र काजमा आएका कर्मचारी फर्ता गर्ने प्रकृया थालिसकेको छ ।
प्रकाशित मिति २०८१ माघ २४ गते बिहीबार ०५:४१




