काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शिक्षा क्षेत्र बरालिएको महशुस गरेको बताएकी छन् ।
शुक्रवार अरुणोदय माध्यामिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताइन् । माध्यामिक तह पास गरिसकेपछि विदेश अध्ययनका लागि विद्यार्थी जाने वातावरणलाई अन्त्य गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्ने उनले जिकिर गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले अब कस्तो विकासको नमूना प्रश्तुत गर्ने ? भन्नेमा सोच्न जरुरी रहेको बताइन् । देशमै परिवारसँग बसेर केही गरौँ भन्ने स्थिति निर्माण गर्न जरुरी रहेको उनको भनाइ छ । देशको शिक्षा प्रणाली अध्ययनपछि रोजगारी दिनसक्ने वातावरण बनाउन जरुरी रहेको उनले उल्लेख गरिन् ।
राष्ट्रिय जीवनलाई गरिमामय बनाउन सबैले आफ्नो गति बढाउनुपनउनको भनाइ छ । शिक्षा प्रणालीमा अमुल परिवर्तन गरेर, देशको उत्पादकत्व वृद्धि गर्ने र जीवनस्तरलाई गरिमामय बनाउन जरुरी रहेको उनले जिकिर गरिन् ।
रोजगारीका लागि भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नु नै अहिले नेपालको आवश्यकता रहेको बताइन् । शिक्षा प्रणालीमा सुधार गरेर राष्ट्रिय अर्थतन्त्रलाई मजबुत गर्नेतर्फ प्रयास गर्नुपर्ने उनको भनाइ छ । देशको अर्थतन्त्र कमजोर भए सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि कमजोर हुने उनले जिकिर गरिन् ।
पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘शिक्षा क्षेत्र बरालिएको हो की भन्ने अनुभव मैले गरेको छु । जसरी शिक्षा एउटा राष्ट्र निर्माणको मुल खम्बा भएर त्यसबाट राज्यका विभिन्न अंगहरु बलियो भएर र भावी पुस्तालाई जस्तो खालको हामीले योगदान दिनुपर्ने हो त्यो हुन सकेको छैन । अहिले हाइ स्कुल पास गरेपछि हाम्रो नयाँ पुस्तालाई हामीले देशमा आकर्षित गर्न अलि गाह्रो परिरहेको तथ्यहरुले देखाइरहेको छ । हिजो जुन आवश्यकताले हाइस्कुलहरु वा स्कुलहरु गाउँमा खोलेका थियौँ, अहिले तिनीहरु शुन्य शुन्य जस्तो छ । हिजोको जस्तो बस्ती गाउँमा छैन । स्कुलहरु मर्जरमा जानुपर्ने जस्तो अवस्था देखिएको छ । कलेजहरुको अवस्था पनि त्यस्तै छ । संख्या पनि कम छ । त्यसको व्यवस्थापन धान्न पनि मुस्लिक परिरहेको देखिन्छ ।’
देश विकास गर्ने अनुकुल समय अहिले रहेको उनको भनाइ छ । विगतमा तीन÷तीन महिनामा सरकार परिवर्तन हुने समस्या रहेकोमा अहिले सरकार स्थायी रहेको उनले उल्लेख गरिन् । अहिले गर्न नसके कहिले पनि गर्न सकिँदैन भन्ने चासो र चिन्ता आम नागरिकमा रहेको उनको भनाइ छ ।
उनले भनिन्, ‘अहिले अनुकुल समय पनि छ । सरकार पनि स्थायी भएर चलिरहेको छ । नत्र यहाँ त हामीलाई समस्या, तीन÷तीन महिनामा सरकार फेरिएर एउटा काम गर्न खोज्यो कहिले पनि पाइला नै अगाडि नसर्ने परिस्थिति थियो, अहिले दुई वटा ठूला राजनीतिक दलहरु मिलेर त्यसलाई स्थायित्व दिने, आर्थिक प्रगति गर्ने भनेर लागिरहनुभएको छ । मेरो त उहाँहरुलाई शुभकामना छ । अब पनि गर्न सकिएन भने के उपाय गर्ने भन्ने चासो जनताको बीचमा पनि छ ।’
जिडिपी सन्तोष गर्ने ठाउँमा नरहेको र व्यापार घाटा चुलिएको उनले जिकिर गरिन् ।
प्रकाशित मिति २०८१ माघ २५ गते शुक्रबार ०४:४५




