पोखरा ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबिचको संयुक्त बैठक पाल्पाको रानीमहलमा बसेको छ ।
रानीमहलमा बुधबार बसेको मुख्यमन्त्री सम्मिलित बैठकले २१ बुँदे निर्णय गरेको छ । यस्तै विकासमा सहकार्य गर्ने साझा धारणा तय गरेको छ । बैठकले हवाई सेवामार्फत दुवै प्रदेशका महत्वपूर्ण धार्मिक क्षेत्रहरू जोड्ने निर्णय गरेको छ ।
यसका लागि भैरहवा र नेपालगन्जबाट जोमसोम उडानका लागि निजी क्षेत्रसँग पहल र दुवै प्रदेश धार्मिक पर्यटनले बढी सम्भावनायुक्त भएकोले धार्मिक क्षेत्रमा सहज आवतजावत मिलाउन तयारी गरिएको छ ।
यस्तै, लुम्बिनीदेखि लोमान्थाङसम्म सिल्क सडक, लुम्बिनीदेखि त्रिवेणी दुम्कीबास सडक, गैँडाकोट कालीगण्डकी कोरिडोर, दुम्कीबास ज्यामिरे हुँदै कालीगण्डकी कोरिडोर र भीमगिठे देखि बुर्तिबाङ हुँदै झिमुक सडक स्तरोन्नतिका लागि प्राथमिकताका साथ प्रक्रिया अघि बढाउने निर्णय दुई मुख्यमन्त्रीले गरेका छन् ।
दुवै प्रदेशको बृहत्तर हितमा योगदान पुर्याउने सह लगानीका ठुला आयोजना पहिचान र कार्यान्वयन गर्ने र प्राकृतिक स्रोतजन्य उत्पादनको विक्री वितरणलाई व्यवस्थित गर्ने निर्णय भएको छ ।
यस्तै, उद्योगहरूको कार्यक्षेत्र विस्तार गर्दै बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र र गण्डकी प्रदेशमा निर्माणाधीन लोकाहा खोला औद्योगिक क्षेत्र प्रयोग गर्न निजी क्षेत्रलाई सहजीकरण गर्ने निर्णय छ ।
प्रकाशित मिति २०८१ माघ ३० गते बुधबार ०६:३१




