पोखरा ।
पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ ।
छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीले भारत र चीनबाट धेरैभन्दा धेरै पर्यटक नेपाल ल्याउनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा पर्यटन क्षेत्रका ८० क्रेता, ७० बिक्रेता र ७५ अन्तरर्राष्ट्रिय प्रतिनिधिसहित छ सयभन्दा बढीको सहभागिता छ । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र अन्य सरकारी तथा निजी क्षेत्रका साझेदार सरोकारवालाहरुको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको जनाएको छ ।
प्रदर्शनीले तीन देशका सरकारी र निजी क्षेत्रका पर्यटन र सरोकारवाला संस्थालाई एकै थलोमा ल्याएर उनीहरुबीच व्यावसायिक अनुभवको साथै सञ्जाल विस्तार र व्यापार अवसरहरू सृजना गराउने विश्वास लिइएको छ ।
प्रदर्शनीको दोस्रो दिन फागुन १३ गते द नलेज फोरमले ‘भिसा डेस्टिनेसन इनसाइट्सः सपोर्टिङ द टुरिजम इकोसिस्टम टु सस्टेनेबल हस्पिटालिटी फ्रम कन्स्ट्रक्सन टु अपरेसन’ लगायतका विषयमा पर्यटन विशेषज्ञहरुले ज्ञान आदनप्रदान गर्नेछन् । साथै प्रदर्शनीमा बिटुबी प्रदर्शनी, व्यावसायिक बैठक तथा सञ्जाल विस्तारका सत्रहरु पनि आयोजना हुनेछन् ।
नाइस फर माइस एण्ड मोर भन्ने नाराका साथ आयोजना भएको प्रदर्शनीले पोखरालाई पदयात्रा र साहसिक पर्यटनमन साथै माइस पर्यटन अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनी) का लागि आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने पाटा नेपालले जनाएको छ ।
प्रकाशित मिति २०८१ फागुन १२ गते सोमबार ०५:५६




