पोखरा
पोखरामा पहिलोपटक पार्क पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको संयोजनमा पोखरामा पहिलोपटक पार्क भलिबल हुन लागेको हो ।
भोलिदेखि फागुन २४ गतेसम्म हुने प्रतियोगिताको विजेतालाई ६० हजार र उपविजेतालाई ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने चिर्को युनिटी पोखराका अध्यक्ष अञ्चल शाही ठकुरीले जानकारी दिए । काठमाडौंपछि पोखरामा पहिलोपटक पार्क भलिबल हुन लागेको उनको भनाइ छ ।
प्रतियोगिता पोखरा महानगरापालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा सञ्चालन हुनेछ । प्रतियोगिताको दौरानमा विविध सांस्कृतिक, मनोरञ्जनात्मक एंव हास्य प्रस्तुती पनि रहने आयाजकले जनाएको छ ।
पार्क भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्भर, डिफेन्डर, सेटर, स्पाइकर, ब्लकर र प्रशिक्षकलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुने टोलीले सातौं, आठौं र नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका एक खेलाडीलाई मात्रै राख्न पाउनेछन् । यस प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रतियोगितामा एक टिममा ५ जना खेलाडी र प्रशिक्षक हुनेछन् । प्रतियोगिताअन्तर्गत एक टोलीमा ४–४ खेलाडी रहने प्रतियोगिताका रेफ्री संयोजक टहलसिंह थापाले जानकारी दिए । खेलाडी कम हुँदा कोर्टको लम्बाई पनि कम हुने उनले बताए ।
प्रकाशित मिति २०८१ फागुन १९ गते सोमबार ०६:४२




