पोखरा ।
देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षका लागि ८ जनाले प्रतिष्पर्धा गर्ने भएका छन् ।
आगामी चैत ५ गते हुने स्ववियुको निर्वाचनको अध्यक्षमा ८ जना चुनावी मैदानमा उत्रिएका हुन् । स्ववियु निर्वाचन कार्यालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार नेकपा एमाले निकट अनेरास्ववियुबाट विष्णु पोखरेल चुनावी मैदानमा छन् ।
उनको प्यानलबाट विराट दुवाडी सचिव र सन्दीका गुरुङ कोषाध्यक्षको उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसनिकट नेविसंघबाट अध्यक्षमा सुशिल न्यौपाने, सचिवमा विवेक भट्टराई र कोषाध्यक्षमा अमिषा यादवले उम्मेदवारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट नविन अधिकारी अध्यक्ष, मिराज थापामगर सचिव र सिर्जना शर्मा कोषाध्यक्षको उम्मेदवार बनेका छन् । एकीकृत समाजवादीनिकट अनेरास्ववियू, विप्लबनिकट अखिल समाजवादी र बैद्यनिकट अखिल क्रान्तिकारीको संयुक्त प्यानलको तर्फबाट अध्यक्षमा सन्तोष पौडेल, सचिवमा किरण खड्का र कोषाध्यक्षमा सचिन पौडेलले उम्मेदवारी दिएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरुङ अध्यक्ष, अभिषेक विष्ट सचिव र अम्बिका धिमाल कोषाध्यक्षको उम्मेदवार बनेका छन् ।
अखिल छैठौंको तर्फबाट मिलन सुनारले अध्यक्षमा उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
स्ववियुको निर्वाचन चैत ५ गते हुनेछ । स्ववियु निर्वाचनका लागि पिएन क्याम्पसमा ९ हजार बढी मतदाता रहेका छन् । १६ वर्षपछि पिएन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको हो । २०६५ सालयता क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।
प्रकाशित मिति २०८१ फागुन २९ गते बिहीबार ०७:०२




