२०८३ साउन २१ गते बिहीबार

सहयोग जुटाएर म्याग्दीका दुई प्रमुख पर्यटकीयस्थलको नक्सा सार्वजनिक

सहयोग जुटाएर म्याग्दीका दुई प्रमुख पर्यटकीयस्थलको नक्सा सार्वजनिक

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ चैत १ गते शनिबार ०७:२५

पर्यटन क्षेत्रका जानकारहरू लगायतबाट कुल ६ लाख संकलन गरिएको अभियान्ता तिलिजाको भनाई छ ।

म्याग्दी ।

पछिल्लो समय म्याग्दी भित्रिने पर्यटकको प्रमुख आर्कषणकोे केन्द्र मानिएको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको यात्रालाई सहज बनाउन म्याप सार्वजनिक गरिएको छ ।

शनिबार पर्वतबेनीमा एक कार्यक्रम गरी पदयात्रामा आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले विभिन्न रङका पोल सहित सम्पूर्ण विवरण सहितको लोकेशन म्याप (स्थानको नक्सा) सार्वजनिक गरिएको हो ।

संविधानसभाका सदस्य गोविन्द पौडेल, प्रतिनिधि सभा पूर्व सदस्य भुपेन्द्रबहादुर थापा, नेकपा (एमाले) जिल्ला कमिटी म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समितिका अध्यक्ष कृष्णप्रसाद बरुवाल, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ र एक्याप धान्द्रुक कार्यालयका प्रमुख भिम उपाध्यायले सामुहिक रूपमा नक्सा सार्वजनिक गरे ।

एकल वा सामुहिक रुपमा पदयात्रामा आउने पर्यटकलाई सहज रुपमा बाटो पहिचान गरी यात्रा सजिलो बनाउने उद्देश्यलेचन्दा सहयोग सङ्कलन गरेर प्राप्त भएको ६ लाख रुपियाँ खर्चिएर मौरिस हर्जोग ट्रेल र अन्नपूर्ण–धौलागिरि सामुदायिक ट्रेकको नक्सा तयार पारिएको योजनाकार एवम् पर्यटनकर्मी चित्र तिलिजाले बताए ।

म्याप बनाउन मोना हङकङले २ लाख आर्थिक सहयोग गरेको छ भने स्थानीय पर्यटन ब्यवसायी, पर्यटन क्षेत्रका जानकारहरू लगायतबाट कुल ६ लाख संकलन गरिएको अभियान्ता तिलिजाको भनाई छ ।

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविरसम्म पुुग्ने पर्यटकको संख्या पछिल्लो दुई बर्षमा ह्वात्तै बढेको अवस्थामा अन्य सुविधासँगै म्याप समेत तयार गरिएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङको भनाई छ ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत अन्नपूर्ण गापा–४ नारच्याङ क्षेत्रमा स्वदेशी पर्यटक नै पदमार्गमा हराउने समस्यालाई म्यापले समाधान गर्ने र पर्यटन विकासमा समेत कोशेढुंगा सावित हुने पर्यटन ब्यवसायीको भनाई छ।

मौरिस हर्जोग पदमार्गको सबै क्षेत्र म्याग्दीमा पर्छ भने अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा उत्तरी पर्वतको बाँसखर्क, लेकफाँट म्याग्दीको राम्चे, हिस्तान र घारका पर्यटकीयस्थललाई समेटिएको छ । दुबै पर्यमार्ग मनोरम ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृंखलाको अवलोकन, एकान्त तथा शान्त स्थल भएकाले प्रकृतिप्रेमी पर्यटकको रोजाइमा पर्ने गरेको छ । पदमार्गमा होमस्टे र सामुदायिक लजको सुविधा समेत छ ।

प्रकाशित मिति २०८१ चैत १ गते शनिबार ०७:२५

हजुरको प्रतिक्रिया