पोखरा ।
कास्कीका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ ।
विभिन्न विद्यार्थी संगठनले निर्वाचन प्रक्रियालाई असन्तुष्ट जनाउँदै तालाबन्दी गरेपछि कास्कीको जनप्रिय बहुमुखि क्याम्पस र विन्दुवासिनी संस्कृत विद्यापीठमा स्ववियु निर्वाचन अनिश्चित बनेको हो ।
जनप्रिय क्याम्पसमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू र विप्लवनिकट अखिल समाजवादीले संयुक्त प्यानल दर्ता गर्न पाउनुपर्ने माग राख्दै निर्वाचन अधिकृतको कार्यालय र क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेका छन् ।
निर्वाचन समितिले सर्वसम्मतिमा निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा सहज परिस्थिति नभएको कारण देखाई राजीनामा दिए । त्यसपछि क्याम्पस प्रमुख कृष्णबाबु बरालले विज्ञप्ती जारी गर्दै तत्कालका लागि स्ववियु निर्वाचन स्थगित भएको जनाएका छन् ।
संस्कृत विद्यापीठमा स्वतन्त्र विद्यार्थी समूहले विभिन्न ४ माग राख्दै आज स्ववियु कार्यालयमा तालाबन्दी गरेको छ । समूहले स्वतन्त्र विद्यार्थीमाथि दलिय हस्तक्षेप, शैक्षिक वातावरणमा असर र असुरक्षित वातावरण रहेको भन्दै स्ववियु निर्वाचन स्थगित गर्न माग राखेको हो ।
चैत १० गते हुने भनिएको निर्वाचनको लागि आज मनोनयन दर्ताको समय तोकिएको थियो । तर, कार्यालयमा तालाबन्दी भएसँगै उम्मेदवारी दर्ता हुन सकेन । सोमबार सबै पक्षसँग छलफल गरी प्रक्रिया अगाडि बढाउने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
कास्कीका पृथ्वीनारायण (पिएन) क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा भने स्ववियुको निर्वाचन प्रक्रिया अघि बढेको छ । यी क्याम्पसमा चैत ५ गते निर्वाचन हुनेछ ।
प्रकाशित मिति २०८१ चैत २ गते आइतबार ०६:१३




