पोखरा ।
पोखरामा पहिलोपटक अटोमोबाइल्स प्रदर्शनी ‘नाडा प्रेजेन्ट्स वाडा अटो सो २०२५’ आयोजना हुने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको संयुक्त प्रस्तुतिमा ‘नाडा प्रेजेन्ट्स वाडा अटो सो २०२५’ आयोजना हुने भएको हो । उक्त प्रदर्शनी चैत १४ देखि १७ गतेसम्म अमरसिंह माविको खेल मैदानमा हुने वाडा उपाध्यक्ष एवं वाडा अटो सो २०२५ संयोजक निरन केसीले जानकारी दिए ।
गण्डकी प्रदेशमा सवारी साधन क्षेत्रको विस्तार, प्रवद्र्धन तथा आधुनिक प्रविधिको विकासमा महत्वपूर्ण योगदान दिने उद्देश्यले आयोजना गर्न लागिएको संयोजक केसीले बताए । पर्यटनको राजधानी पोखरामा पहिलो पटक हुन लागेको यस प्रदर्शनीमा विभिन्न ब्रान्डका सवारी साधन, प्रविधि, सेवा प्रदायक, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, वित्तीय संस्था तथा सम्बन्धित क्षेत्रका व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहनेछ ।
अटो सोमा १९ वटा ब्रान्डका चारपांग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, ७ वटा ब्रान्डका दुईपांग्रे सवारी साधन प्रदर्शन गरिनेछ ।
२० वटा स्टलमा लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, वित्तीय सेवा प्रदायकका सामग्रीहरू समेत राखिनेछन् ।
सवारी साधन सुरक्षासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारीमूलक कार्यक्रम सञ्चालन समेत हुनेछ ।
प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार ०७:२९




