२०८३ साउन २१ गते बिहीबार

सामूहिक राजिनामा दिएका कास्कीका ३५ शिक्षकको राजिनामा फिर्ता

सामूहिक राजिनामा दिएका कास्कीका ३५  शिक्षकको राजिनामा फिर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ५ गते बुधबार ०७:४९

उनले शिक्षकहरुको माग पुरा गर्न निरन्तर छलफल र संवादमा जुटेकोमा शिक्षामन्त्रीलाई समेत धन्यबाद ज्ञापन गरे ।

पोखरा ।

कास्कीमा सामूहिक राजिना दिएका कास्कीका ३५ जना शिक्षकको राजिना फिर्ता भएको छ ।

गत पुस २९ गते नेपाल सरकारले जारी गरेको सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ को दफा १२ को भूतप्रभावी व्यवस्थाको विरोध गर्दै सामूहिक राजिनामा दिएका शिक्षकहरुको राजिनामा आज फिर्ता भएको हो ।

अध्यादेशको विरोध गर्दै आन्दोलनमा उत्रिएका ३५ जना स्थायी शिक्षकहरुले माघ ०४ गते पेस गरेको सामुहिक राजिनामा दिएका थिए । शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुखको कार्यकक्षमा भएको धन्यवाद ज्ञापन तथा राजिनामा फिर्ता गर्ने कार्यक्रममा आन्दोलनका एक नेतृत्वकर्ता शिक्षक किर्तीराज ढकालले राजिनामा फिर्ता जानकारी दिए ।

उक्त अवसरमा उनले आफुहरुको आन्दोलन लोकतान्त्रिक, मर्यादित एवम् औचित्यपूर्ण भएको हुँदा सरकारले वाध्य भएर अध्यादेशको प्रतिस्थापन विधेयकमा माग वमोजिम नै २०८२ वैशाख १ गतेबाट मात्र सो दफा लागु हुने स्पष्टिकरण दिई संशोधन गर्न तयार भएको बताए । उनले शिक्षकहरुको माग पुरा गर्न निरन्तर छलफल र संवादमा जुटेकोमा शिक्षामन्त्रीलाई समेत धन्यबाद ज्ञापन गरे ।

चैत्र ०४ गते प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्रीद्वारा सम्माननीय सभामुखज्यूलाई सम्बोधन गर्दै प्रतिस्थापन विधेयकमा निवृत्तिभरण कोष ऐन २०७५ को दफा ९ खण्ड (क१) “शिक्षक सेवा”को पछाडी “स्पष्टिकरणः यस खण्ड बमोजिमको व्यवस्था २०८२ साल वैशाख १ गते देखि प्रारम्भ हुनेछ ।” भन्ने संशोधन स्वीकार गर्ने भनी लिखित पत्र पेस गरेका थिए ।

कार्यक्रममा राजिनामा फिर्ताको पत्र बुझ्दै इकाई प्रमुख लोकनाथ आचार्यले माघ ४ गते आन्दोलनको कार्यक्रममा सामूहिक राजिनामा लिँदै गर्दा आफूले शिक्षकका जायज मागहरु पूरा हुनुपर्ने बताएको र अहिले त्यो काम भएकोमा आफू खुसी भएको बताए ।

उनले भने, “शिक्षकहरु खुसी मन लिएर कक्षामा प्रवेश गरेमात्रै शिक्षामा सुधार हुन सक्छ । काम गर्दा मानवीय त्रुटी जसका पनि हुन सक्छन्, त्रुटी महशुस गरेर सुधार गर्नु महत्वपूर्ण कुरा हो । कानुन बनेपछि मात्रै लागुहुने सर्वमान्य कुरा सरकारले स्पष्ट पार्दै थप स्पष्टिकरण समेत राखेर अध्यादेश संशोधन गर्ने निश्चित गरेको छ, जुन स्वागत योग्य छ ।”

आन्दोलनको क्रममा सहयोग गर्ने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार, सुरक्षाकर्मी लगायतप्रति आभार व्यक्त गर्दै कार्यक्रमको अध्यक्षता गरेका शिक्षक भुवन सुवेदीले सरकारले आफ्नो त्रुटी सुधार गरेकाले आफूहरुले पनि राजिनामा फिर्ता सहित हालको लागि आन्दोलनका सबै कार्यक्रम फिर्ता गर्दै अब नेपाल शिक्षक महासंघको झण्डामा सार्वजनिक शिक्षा सुधारका लागि एकिकृत भएर अघि बढ्ने उल्लेख गरे ।

प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार ०७:४९

हजुरको प्रतिक्रिया