गोरखा ।
गोरखाको आरुघाट गाउँपालिका–१ का १६ वर्षीय किशोर यूनिष गुरुङको बुधबार साँझ बुढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ ।
गुरुङ एसईई परीक्षा दिनको लागि गाउँपालिका वडा नम्बर ४ स्थित थुमी गएका थिए । प्रहरीका अनुसार बुधबार साँझ करिब साढे ६ बजेतिर यूनिष गुरुङ बुढीगण्डकी नदीमा पौडी खेल्न गएका थिए ।
सोही समयमा नदीको बहावले उनलाई बगाएर डुबाएको थियो । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीको टोलीले तत्कालै खोजी अभियान सुरु गरेको थियो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार, बगाएको स्थानदेखि एक किलोमिटर तल बालक गुरुङलाई मृत अवस्थामा फेला परेको बताए ।
साथै घटनामा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८१ चैत १२ गते बुधबार ०८:३४