२०८३ साउन २१ गते बिहीबार

सराङकोट महायज्ञबाट करिव साढे २ करोड बचत

सराङकोट महायज्ञबाट करिव साढे २ करोड बचत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १४ गते शुक्रबार ०६:१४

आमा समूह, युवा क्लव, भजन समूह, वाजा समूह लगायत विभिन्न संघ संस्था एवम् व्यक्तिलाई सम्मान गरियो।

पोखरा ।
यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ ।
आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार एक कार्यक्रमका बीच महायज्ञको आय व्यव विवरण सार्वजनिक गरेको हो । जसअनुसार यज्ञमा रु.३ करोड १ लाख ९२ हजार, ३ सय ५५ दान संकलन भएकोमा ५३ लाख ९४ हजार ६ सय २८ खर्च कटाई रु.२ करोड ४७ लाख ९७ हजार ७ सय २७ बचत हुन आएको महायज्ञका सहमहासचिव भेकबहादुर थापाले जानकारी दिए । उनले त्यसमध्ये ५५ लाख अक्षयकोषवापत प्राप्त हुन आएको पनि स्पष्ट पारे ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सबैको साथ सहयोगले यज्ञ सफल भएको जनाउनु हुँदै अझै पनि सहयोग आउनेक्रम जारी रहेको बताउनुभयो। उहाँले दानको महत्वमाथि प्रकाश पार्नुहुँदै आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको क्रियाशिलताको प्रशंसा गरे ।
समितिका अध्यक्ष प्रेमबहादुर जिसीले यज्ञमा खट्नुहुने सबैप्रति आभार प्रकट गर्नुहुँदै २० वर्षसम्मको निरन्तर साधानाका कारण सराङकोटमा हालसम्मका संरचना निर्माण गर्न सफल भएको औल्याए । उनले सराङकोटको स्तरबृद्धिमा सहयोग गर्ने पोखरा महानगर, गण्डकी प्रदेश सरकार, पोखरा क्षेत्रका स्थानीयवासी लगायत सबै भक्तजनप्रति धन्यवाद समेत प्रकट गरे ।
वडा सदस्य समेत रहेकी महायज्ञ मूल आयोजक समितिकी सहअध्यक्ष कल्पना ढकाल क्षत्रीले सराङकोट पोखरा क्षेत्रकै प्रसिद्ध धाम रहेको उल्लेख गर्नुहुँदै उक्त धामलाई अझै व्यवस्थित गर्दै लैजानुपर्ने स्पष्ट पारे ।
कार्यक्रमका बीच महायज्ञमा सहयोग पु¥याउनुहुने आमा समूह, युवा क्लव, भजन समूह, वाजा समूह लगायत विभिन्न संघ संस्था एवम् व्यक्तिलाई सम्मान गरियो।
सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महायज्ञका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गरे ।
सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।
त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । यही फागुन १४ गते सराङकोट धामको राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहका बीच उद्घाटन गरेका  थिए ।
प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०६:१४
हजुरको प्रतिक्रिया