२०८३ साउन २१ गते बिहीबार

मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गरिने

मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २४ गते सोमबार ०२:२०

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने भएको छ । सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न निकुञ्ज...

काठमाडौं ।

प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने भएको छ ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रको चारकिल्ला भित्र बसोबास गर्ने मानिसहरुको मानव अधिकारको अवस्थाबारे अध्ययन गर्न चार समूह बनाएको छ । समितिले ढोरपाटन शिकार आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्ष अन्तर्गतको मध्यवर्ती क्षेत्रको चार किल्लाभित्र बसोबास गर्ने मानिसहरुको मानव अधिकारको अवस्थाबारे अध्ययन गर्ने समिति सभापति बिमला सुबेदीले बताइन् । उनले ढोरपाटन शिकार आरक्ष अन्तर्गतको मध्यवर्ती क्षेत्रको चार किल्लाभित्र बसोबास गर्ने मानिसहरुको मानव अधिकारको अवस्थाबारे अध्ययन गर्न सभापति सुबेदीसहित सांसदहरु जीवन परियार, पूर्णबहादुर घर्ती, महेशकुमार बर्तौला, शेरबहादुर कुँवर, नैनकला थापा र सन्तोष परियारलाई जिम्मेवारी दिइएको बताइन् । उनले स्थलगत अध्ययनका कार्यक्रमहरु समिति सचिवालयले सांसदहरुसँग समन्वय गरी तय गर्ने र सांसदहरुले संयोजक तोकी आफैँ कार्यविधि बनाई लागू गर्ने समेत बताइन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रको चार किल्लाभित्र बसोबास गर्ने मानिसहरुको मानव अधिकारको अवस्थाबारे अध्ययन गर्न सांसदहरु बिमला सुवेदी, ध्रुवबहादुर प्रधान, सन्तोष परियार, सोविता गौतम र सुहाङ नेम्वाङलाई दिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रको चारकिल्लाभित्र बसोबास गर्ने मानिसहरु मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्न सांसदहरु रामकुमार राई, सुशिला थिङ, चन्द्रबहादुर विश्वकर्मा, गोमा सापकोटा र रञ्जुकुमारी झालाई जिम्मेवारी दिइएको छ । त्यसैगरी कोशी टप्पु आरक्षको मध्यवर्ती क्षेत्रको चारकिल्लाभित्र बसोवास गर्ने मानिसहरुको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्न सभापति सुबेदीसहित सांसदहरु नागिना यादव, पुष्पबहादुर शाह, शेरबहादुर देउवा, सुनिलकुमार शर्मा र प्रतिक्षा तिवारीलाई दिइएको छ । आवश्यक छलफल गरि सांसदहरुको नामावली फेरबदल गर्न सकिने समेत बताइएको छ । स्थलगत अध्ययनमा जाने टोलीहरुले सुझावसहितको प्रतिवेदन समितिसमक्ष बुझाउनुपर्ने सभापति सुबेदीले बताइन् । स्थलगत अध्ययन भ्रमणको मितिबारे पछि टुङ्गो लगाइने उनले बताइन् ।

प्रकाशित मिति २०८१ चैत २४ गते सोमबार ०२:२०
हजुरको प्रतिक्रिया