२०८३ साउन २१ गते बिहीबार

अन्नपूर्ण आरोहण शुरू, एकैदिन ३२ आरोही चुचुरोमा

अन्नपूर्ण आरोहण शुरू, एकैदिन ३२ आरोही चुचुरोमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २५ गते मंगलबार ०८:११

वसन्तयाममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् ।

काठमाडौं ।

म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालू वसन्तयामको आरोहण शुरू भएको छ । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।

आरोहण शुरू भएको पहिलो दिन हिजो सोमवार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट ९, पायनियर एडभेन्चरबाट ८, आठके एक्सपिडेसनबाट ९, इमाइजिन नेपालबाट ३ र मकालु एभेन्चरबाट २ जनाले अन्नपूर्णको सफल आरोहण गरेका जानकारी दिए । अन्य दिनको तुलनामा सोमवार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएका उनले बताए ।

आरोहण टोलीका २ जना शेर्पा हिमपहिरोमा बेपत्ता भएका छन् भने अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प २ र ३ को बीचमा हिमपहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।

आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘सुक्खा अवस्था, धेरै दरार, क्याम्प २ र क्याम्प ३ बीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो, उनले लेखेका छन्, ‘अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुन्दर हिमाललाई बिदाइ गरेँ, अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।’

वसन्तयाममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गएको वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । ४ हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर आरोही, शेर्पा, पथप्रर्दशक, मजदूर र पर्यटकहरूले भरिएको छ ।

अहिलेसम्म ५२० जनाले अन्नपूर्णको सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म गाडीको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

प्रकाशित मिति २०८१ चैत २५ गते मंगलबार ०८:११
हजुरको प्रतिक्रिया