बागलुङ ।
बागलुङमा पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
जिल्लाको तमानखोला गाउँपालिकाका कर्मचारी चरेको पिकअप जिप नयाँ वर्षमा घुम्न जाँदा दुर्घटना भएको हो । तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराह ताल तर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बर को पिकअप जिप उकालोमा ब्रेक फेल भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायव पशु शाखा प्राविधि जुम्ला कन्का सुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका–२ का २९ वर्षीय सचिन विक, प्राबिधिक साहायक रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीयको नविन मल्ल घाइते भएका छन् ।

त्यस्तै गाउँपालिकाकी पूर्व उपाध्यक्ष तमानखोला गाउँपालिका–१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्रा कुमारी गिरी, २५ वर्षीया बसन्ति मगर, सोही स्थानका गाडी चालक २७ वर्षीय सुशिसल रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

घाइते मध्ये सहायक प्रशासकीय मुना विक र प्राबिधिक साहायक नविन मल्लको अवस्था गम्भीर रहेको यादवको भनाइ छ । गम्भीर दुवै जनालाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाइएको उनले जानकारी दिए । अन्य घाइतेहरु बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक यादवले बताए । उनीहरु सबै घुम्नका लागि बराह तालमा जाँदै गर्दा गाडी दुर्घटनामा परेको थियो ।





