पोखरा ।
कास्कीको रुपा गाउँपालिकाले स्थापना गरेको रुपा अस्पतालमा सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।
बिमा बोर्डसँगको सहकार्यमा रुपा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । गाउँपालिका अध्यक्ष नवराज ओझाले सेवाग्राही जानकी गुरुङलाई बिरामी पुर्जा दिएर स्वास्थ्य बिमा कार्यक्रम सोमबार सुरुवात गरे ।
स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको ओझाले बताए । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ५ जनाको परिवारको बिमा गर्दा लाग्ने ३ हजार ५ सय रुपियाँको पचास प्रतिशत गाउँपालिकाले व्यर्होने भएको छ । बिमाको लागि अनुदान दिन पालिकाले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन छ ।
पालिका भित्रको स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम नहुँदा जनताले सेवा लिन पोखरा धाउनुपर्ने र विभिन्न समस्या पनि झेल्नुपर्ने भएकाले बिमा कार्यक्रम सुरुवात गरिएको पालिकाले जनाएको छ । पालिकाले अस्पतालसहित ९ वटा स्वास्थ्य संस्थाबाट सेवा दिदै आएको छ । २ जना डाक्टरसहित २८ जना अस्पतालमा कार्यरत रहेको र आगामी वर्षदेखि दाँतको सेवा विस्तार गर्ने पालिकाको योजना छ ।
अस्पताल र वसस्थ्य संस्थामा पालिकाले ५० लाख खर्च गर्दै आएको छ । अस्पतालमा सेवा लिन आएका मध्ये ३० प्रतिशतलाई मात्र अनेत्र रिफर गर्ने गरिएको छ । जनतालाई सहज हुने गरी बिहान ८ बजेबाट नै बहिरंग सेवा(ओपिडी) सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुवास सुवेदीले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमाले रुपा गाउँपालिका अध्यक्ष नीलकण्ठ रेम्मीले स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्कको अनुदान शत प्रतिशत पु¥याउन गाउँपालिकासँग आग्रह गरे । नेपाली कांग्रेस रुपा गाउँपालिका अध्यक्ष विमलबाबु न्यौपानेले स्वास्थ्य कार्यक्रम जनताले अनुभूति गर्ने कार्यक्रम भएको बताउँदै सबैको अपनत्व हुनेगरी कामलाई अगाडि बढाउनुपर्ने बताए ।
रुपा गाउँपालिकाका उपाध्यक्ष एवं अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति अध्यक्ष लालसुब्बा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रुपाका स्वास्थ्य संयोजक रामचन्द्र ओझा, जनस्वास्थ्य निरीक्षक लोकराज आचार्यले रुपा गाउँपालिकाले विकास निर्माणको साथैसाथै स्वास्थ्य सेवालाई पनि प्राथमकितामा राखेर काम गरिरहेको बताए ।
प्रकाशित मिति २०८२ वैशाख १ गते सोमबार ०८:०४




