काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए । उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए । मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने जिकिर गरे । उनले मेटाले नेपालको कुल गाहस्थ्र्य उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने उल्लेख गरे ।
उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी समेत गराए ।
प्रकाशित मिति २०८२ वैशाख १२ गते शुक्रबार ०१:४९