पोखरा ।
गोरखा भुकम्प गएको १० वर्ष पुगेको अवसरमा पोखरामा भुकम्प सिकाई प्रदर्शनी गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले शुक्रबार पोखराको पृथ्वीनारायण क्याम्पसमा एक दिने भुकम्प सिकाई प्रदर्शनी गरेको हो ।
प्रदर्शनीमा पोखरा महानगरपालिका अन्तर्गतका शैक्षिक संस्थाका विद्यार्थीहरु सहभागी भएका थिए । भूकम्प जानुअघि, जादै गर्दा र गईसकेपछि के गर्नुपर्छ ? भूकम्पको तयारी गर्ने उपाय र विभिन्न उचाइका भवनहरूमा भूकम्पले गर्ने असर सम्बन्धि विद्यार्थीलाई प्रशिक्षित गराइएको नाष्टका भूकम्पविद् डा. शिव सुवेदीले जानकारी दिए ।
भुकम्पविद् डा. वैज्ञानिक अध्ययन तथा अनुसन्धानहरुले ८ भन्दा ठुलो म्याग्नेच्युडको भूकम्प ल्याउन सक्ने शक्ति पश्चिम नेपालको जमिनमुनि संचित भइसकेको छ भनेर देखाइसकेको बताए । उनले सो अवस्थामा भविष्यमा जाने भूकम्पको तयारीको लागि हामी सबैले मिलेर काम गर्न आवश्यक रहेको उल्लेख गरे ।
प्रदर्शनीमा भूकम्प, भूकम्पको कारण, प्लेट टेस्टोनिक्स, गोरखा भूकम्प, भूकम्पको विज्ञान, मोडल र भूकम्पको म्याग्नेच्युड र भूकम्पको तीव्रता, र भूकम्पको भविष्यवाणी गर्न किन सकिदैन ? भन्ने जस्ता विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
नेपालसहित स्विजरल्याण्ड, सिंगापुर, बेलायतमा भूकम्पको विधामा काम गरिरहेका विज्ञहरुले विद्यार्थीलाई प्रशिक्षण गराएका थिए ।
प्रदर्शनीमा भूकम्पसम्बन्धि हाजिरीजवाफ र चित्रकला प्रतियोगितासमेत गरिएको थियो ।
प्रकाशित मिति २०८२ वैशाख १२ गते शुक्रबार ०७:२६




