काठमाडौं ।
आन्दोलनरत शिक्षक र प्रहरीबीचको झडपको क्रममा घाइते पत्रकार सबिना कार्कीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका शिक्षकहरूले नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रहरीले भीडलाई नियन्त्रणमा लिनको लागि पानीको फोहोरा प्रहार गरेपछि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । सोही समयमा समाचार संकलनको लागि पुगेकी प्राइम टाइम्स टेलिभिजनकी पत्रकार कार्की घाइते भएकी हुन् । उनलाई प्रहरीले अस्पताल पुर्याएको थियो । चोटको कारणले कार्कीको दुबै आँखाको लेन्सहरू सुन्निएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । घाइते कार्कीले समाचार संकलनको क्रममा पानीको फोहोराले एक्कासी अनुहारमा लागेको बताएकी छन् । उनले आफू ढलेपछि एक शिक्षिकाले प्रहरीलाई खबर गरेपछि प्रहरीले उपचारको लागि अस्पताल पु¥याएको बताइन् । उनले बायाँ आँखाले केही हदसम्म हेर्न मिले पनि दायाँ आँखा खोल्नै नमिलेको बताइन् ।
उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठका अनुसार आँखाभित्र रगत जमेको कारणले भिजन एकदमै कम रहेको हो । चोटको कारण आँखाको प्रेसर पनि बढेको उनले बताए । घाइते पत्रकार कार्कीलाई भेट्न नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहालको टोली अस्पताल पुगेको थियो । पत्रकार महासंघले पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार निन्दनीय र खेदजनक रहेको बताएको छ । महासंघले घाइते पत्रकार कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन माग गरेको छ ।
प्रकाशित मिति २०८२ वैशाख १४ गते आइतबार ०९:२८




