काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति निकालेर विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अहिले लोडसेडिङ नभएको र आउँदा दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने स्पष्ट पारेको हो ।
सामाजिक सञ्जालमा फैलिएका हल्ला भ्रामक भएको भन्दै प्राधिकरणले औद्योगिक क्षेत्रका ग्राहकलाई बेलुकाको समयमा खपत कम गरेर सहयोग गर्न अनुरोध समेत गरेको छ ।
प्राधिकरणले गर्मीयाम शुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा माग अनुसार विद्युत् आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई चौबिसै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको दाबी गरेको छ ।
अहिलेको मौसमका कारण कतिपय ठाउँमा आँधीहुरी, चट्याङ र अविरल वर्षाले संरचनामा क्षति पुग्दा अस्थायी अवरोध हुनसक्ने प्राधिकरणले जनाएको छ । मर्मतसम्भार, भूमिगत लाइन विस्तार, सडक तथा खानेपानीको निर्माण कामका कारण पनि कतैकतै विद्युत् बन्द हुने अवस्था आउनसक्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति २०८२ वैशाख १५ गते सोमबार ०८:४३




