पोखरा ।
गण्डकी कोटिहोममा आज वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालको सहभागितामा विशेष कार्यक्रम आयोजना हुँदैछ ।
उनको उपस्थितिले कार्यक्रमको महत्त्व र सम्मानलाई थप उजागर गर्नेछ।गण्डकी कोटिहोममा ४१ दिनसम्म चल्ने महायज्ञले व्यापक ध्यानाकर्षण गरेको छ ।
वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको यस महायज्ञमा २१ फिट लामो रुद्राक्षले सजिएको शिवलिङ्गसहित हवनकुण्ड तयार गरिएको छ ।
भक्तजनहरूलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्री लिएर सहभागी हुन निम्तो दिइएको छ। सुश्री अनुराधा पाण्डेय र अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन शुरू गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरूले पनि कथावाचनमा सहभागिता जनाउनेछन्।महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक प्रस्तुतिहरू आयोजना हुनेछन्।
आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको व्यवस्था गरेको छ, जसले सांस्कृतिक सहभागिता र रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्नेछ । देश–विदेशबाट लाखौं भक्तजनको उपस्थिति अपेक्षित छ ।
दैनिक कथा वाचन र सामाजिक कार्यमार्फत सामाजिक जागरण र सांस्कृतिक संरक्षणलाई प्रवद्र्धन गर्दै आएकी देवी प्रतिभाको यो योगदानले समाजमा सकारात्मक प्रभाव छोड्ने विश्वास छ ।
प्रमुख दहालको उपस्थितिसहित यो महायज्ञले गण्डकी कोटिहोमको प्रयासलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति २०८२ वैशाख १५ गते सोमबार ०३:४७




