२०८३ साउन २१ गते बिहीबार

पर्यटकीय नगरी पोखरामा आजदेखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु

पर्यटकीय नगरी पोखरामा आजदेखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १७ गते बुधबार ०५:०६

पोखरा । पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा फाउण्डेशन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केहि स्थानीयको जग्गामा...

पोखरा ।

पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ ।

मानव सेवा फाउण्डेशन नेपालको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केहि स्थानीयको जग्गामा महायज्ञ औपचारिक रुपमा शुरु भएको हो ।

महायज्ञमा निरंजनी पिठाधीश्वर १००८ आचार्य महामन्डलेश्वर स्वामी कैलाशानन्द गिरिजी महाराजले बुधबार बिहान ७ बजेर २७ मिनट जाँदा हवानादी कार्यको विधिवत शुभारम्भ गरी महायज्ञ औपचारिक रुपमा शुरु भएको हो ।

नेपाल पञ्चाड्ड निर्णायक विकास समितिले दिएको साइत र समय अनुसार नै महायज्ञको विधिवत रुपमा शुरु गरिएको कोटिहोम महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले जानकारी दिए ।

बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीका अनुसार बैशाख १९ गते कोटीहोम महायज्ञमा हवनात्मक कार्यक्रको प्रारम्भ हुने छ । सोहि दिन बिहान ६ बजेर ४५ मिनेटमा अग्नी मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नी प्रवेश गराउने, ७ बजेर १९ मिनेटमा अग्नीमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नी कुण्डमा आह्ति प्रदान गरी कोटीहोमको प्रारम्भ हुने उनले जानकारी दिए । महायज्ञमा १ सय वटा हवन कुण्ड रहेका छन् ।

जेठ २६ गते सोमबार कोटिहोम महायज्ञको विधिवत् पुणांहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञको मुख्य दिन बैशाख १७ देखि जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति हुनेछन् । कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ ।

बैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड खनी महयज्ञ स्थलमा दैनिक रुपमा कथा वाचन हुदै आएको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको शुरुवातसँगै महायज्ञमा हाल अन्तराष्ट्रिय कथाबाचिका देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

महायज्ञ औपचारिक रुपमा शुरुहुनु भन्दा अघिल्लो दिन निकालिएको शोभा कलश यात्राले महायज्ञ सफल भएको आम भक्तजनको आवाज रहेको थियो ।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले महायज्ञमा सहभागि जनाएर पुण्य लाभ लिन सवै भक्तजनामा आग्रह गरे ।

‘महायज्ञका हरेक दिन भएका गतिविधिमा भक्तजनको सहभागिताले हामीलाई उत्साहित बनाएको छ’ उनले भने, ‘यो ऐतिहासिक कार्यक्रममा पक्कै पनि कोहि छुट्नुहुन्न ।’

महायज्ञका प्रदेश तथा केन्द्रीय सरकारका सांसद, विभिन्न धार्मिक तथा सामाजिक अभियान्ता सञ्चारकर्मीको उपस्थिति बढ्दै गएको छ ।

महायज्ञमा कथा, राम कथा, शिवमहापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देवलीला र नृत्य प्रस्तुतिहरू हुने महायग मूल आयोजक समितिका सहनिर्देशक युवक लामिछानेले जानकारी दिए । महायज्ञ स्थलमा विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको मुल आयोजक समितिका निर्देशक शंकर खरालले जानकारी दिए ।

महायज्ञमा स्वदेशबाट मात्रै नभई विदेशबाट पनि विदेशी धार्मिक पर्यटकको समेत आगमन हुन थालेको छ ।

महयज्ञमा घरपझोङ गाँउपालिका जोमसोम मुस्ताङका अध्यक्ष मोहन सिंह लालचनले नगद २ लाख ५५ हजार प्रदान गरेका छन् । उनी यो महायज्ञमा अनाथ बच्चाको एक वर्षको अभिभावक बन्ने पहिलो व्यक्ति बनेका छन् ।

कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ ।

आयोजकले सामाजिक सञ्जालमा मानवसेवा फाउण्डेशन र गण्डकी कोटिहोम ह्यासट्याग प्रयोग गरी छोटा भिडियो बनाउने व्यक्तीलाई २५ हजार सम्मको पुरस्कार र सम्मानपत्र प्रदान गर्ने घोषणा गरेका छन् । यो पहलले युवा र समुदायको रचनात्मक सहभागितालाई प्रोत्साहन आयोजकले अपेक्षा गरेको छ ।

 

प्रकाशित मिति २०८२ वैशाख १७ गते बुधबार ०५:०६
हजुरको प्रतिक्रिया