बागलुङ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको विकल्पका रुपमा रहेको पाखुट्टे–झिम्पा–निसी सडक स्तरोन्नति गर्न थालिको छ ।
वि.सं.२०७३ सालमा ट्रयाक खुलेको उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो । ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि निसीखोला गाउँपालिका–५ निसीसम्म २५ किलोमिटर रहेको उक्त सडकको दुई खण्डमा स्तरोन्नति गर्न थालिएको छ ।
पहिलो खण्ड झिम्पाखोलादेखि ढाँडसम्मको पाँच किलोमिटर एम/एस टिएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन र दोस्रो खण्ड पाखुट्टदेखि माँडेसम्मको दुई किलोमिटर बागलुङ कालीगण्डकी निर्माण सेवाले जिम्मा लिएर काम गरि रहेका छन् । पहिलो खण्ड निसीखोला गाउँपालिकाले चालु् आर्थिक वर्षमा सविनियोजन गरेको रु ९८ लाख ४७ हजार र दोस्रो खण्ड संघीय सरकारले विनियोजन गरेको रु ५९ लाख ७३ हजार १७६ मा स्तरोन्नति हुन थालेको हो ।
पहिलो खण्ड गत चैत २२ गते सम्झौता गरि काम सुरु भएको थियो भने दोस्रो खण्ड २०८१ पौष २ गते सडक डिभिजन कार्यालय बागलुङमार्फत सम्झौता भएको थियो । यस खण्डमा सडक चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । जेठ मसान्तसम्म सक्ने उक्त खण्डको काम अहिलेसम्म ९० प्रतिशत सम्पन्न भएको छ ।
पहिलो खण्डमा हालसम्म ३० प्रतिशत काम भएको सकिएको छ । यस खण्डको विभिन्न ठाउँमा ह्यम पाइप हाल्ने, नाली निर्माण गर्ने र सडक फराकिलो बनाउने कार्य भइरहेको छ । आगामी असार १० गतेसम्म सक्ने गरि काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
पाखुट्टे–झिम्पा–निसी सडक लागि गाउँपालिकाले अहिलेसम्म रु चार करोड बढी रकम खर्च गरिसकेको छ । यस सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि विभिन्न अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको थियो । निसीखोला गाउँपालिकाले अघिल्ला आर्थिक वर्षहरुमा वैकल्पिक सडक स्तरोन्नति गर्नका लागि करोडौँ रकम खर्च गरि सकेको छ ।
सडक स्तरोन्नति नहुँदा स्थानीय लामो समयदेखि हिलो र धुलोबाट आजित हुने परेको भन्दै अब उक्त समस्याबाट मुक्त हुने अपेक्षा लिइएको छ ।
प्रकाशित मिति २०८२ वैशाख १७ गते बुधबार ०६:१८




