म्याग्दी ।
सफा र स्वच्छ समाज बनाउन म्याग्दी जेसीजले शनिबार सदरमुकाम बेनीबजारमा फोहोर संकलन दौड आयोजना गरेको छ ।
सबै नागरिक मिलेर सर्वाजनिक स्थानलाई फोहोर रहित बनाउनुपर्ने सन्देश सहित आयोजित प्रतियोगितामा बेनी नगरपालिका–७ महारानीथान समुहकी सिर्जना शर्मा र मिना जिसीको समुहले ४२.७२ केजी फोहोर संकलन गदैं प्रथम भएको छ ।
यसैगरी ४२.४१ केजी फोहोर संकलन गर्दै बिटी चोककी बिनम थजाली, एन्जल थजाली द्धितिय र जिल्ला फुटबल संघकी प्रजिया कार्की र रिधिमा भट्टचनले ३३.५१ केजी फोहोर संकलन तृतिय भएको म्याग्दी जेसीजका सहसचिव गोकुल सुनारले जानकारी दिए । प्रतियोगीले संकलन गरेको फोहोरलाई जोखेर घोषणा गरिएको थियो ।
विजेतालाई भित्ते घडी, करुवा र सरसफाई साम्रागी वितरण गरिएको छ । सोही अवसरमा बेनी नगरपालिकाका सरसफाई कर्मचारी राजु किसान, राम मगर र उमेश पटेललाई नगद १५ सय सहित उपहार प्रदान गरिएको कार्यक्रम संयोजक एवम् शाखाका महासचिव देबेन्द्र घिमिरेले बताए ।
कालिपुल बसपार्कबाट सुरू भएको फोहोर संकलन दौड बेनीबजारका विभिन्न टोल हुदै बिरेन्द्रचोकमा पुगेर समापन भएको थियो । दौडमा २ जनाको जोडी बनाएर ४५ मिनेटको अवधिमा बेनीबजारका सार्वजनिक स्थानबाट ३ सय केजी फोहोर संकलन गरिएको थियो ।
प्रतियोगितामा विभिन्न संघसंस्था, नेपाल प्रहरी सहित विद्यार्थी गरी २० टिमले सहभागिता जनाएका थिए भने अप्रतियोगि ५ जनाले समेत फोहोर संकलन अभियानमा सहभागिता जनाएका थिए । म्याग्दी जिल्लालाई नै स्वच्छ बनाउने अभियानका साथ सचेतना फैलाउन प्रतियोगिताको आयोजना गरिएको म्याग्दी जेसीजले जनाएको छ ।
प्रकाशित मिति २०८२ वैशाख २० गते शनिबार ०३:३१




