तनहुँ ।
आधारभूत स्वास्थ्य केन्द्रको माग गर्दै तनहुँको शुक्लागण्डकी–१० लोकदीटारबासीले मेयर कृष्णराज पण्डितको कार्यकक्षमा ताला लगाएका छन् ।
मंगलबार नगरपालिकाको भवनको मुख्य प्रवेशद्धारमा लोकदीटारबासीले ताला लगाएका थिए । बुधबार दिउँसो २ बजेपछि भने मुख्य प्रवेशद्धारको ताला खोलेर मेयरको कार्यकक्षमा लगाएका हुन् ।
स्वास्थ्य मन्त्रालयमा लोकदीटारवासीले आधारभूत स्वास्थ्य केन्द्रको माग गर्दै निवेदन दिएका थिए ।
वडाले र नगरपालिकाले पनि सिफारिस पत्र दिएको थियो । स्वास्थ्य मन्त्रालयबाट बजेट आउदा स्थान नतोकिएपछि विवाद चरम उत्कर्षमा छ ।
हाल आधारभूत स्वास्थ्य केन्द्र वडाको मुकाम छब्दीस्थित भाडाको भवनमा चलिरहेको छ । आफूहरुले मागेको बजेटले छब्दीमा नभइ लोकदीटारमै भवन बन्नुपर्ने मागसहित स्थानीय आन्दोलित बनेका हुन् ।
आन्दोलित स्थानीयसँग बुधबार विहानदेखि भएको वार्तामा मेयर कृष्णराज पण्डित उपस्थित भएनन् । उपमेयर खुमबहादुर विक ‘राजु’, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापा (डिबी) र वडाका जनप्रतिनिधिले वार्ता गरेपनि बिना निष्कर्ष टुंगिएको छ ।
आन्दोलित लोकदीटारबासीले मेयर जवाफदेही बन्नुपर्ने मागसमेत राखेका थिए । उनी मंगलबारसमेत वार्ता नगरीकन भागेका थिए । उनको गाडीको चाबी आन्दोलनकारीले खोसेका थिए ।
नीतिगत प्रक्रियाले एउटै वडामा दुईवटा आधारभूत स्वास्थ्य केन्द्र बन्न नसक्ने बताउदै नगरपालिकाले पछिल्लो समय शहरी स्वास्थ्य केन्द्र लोकदीटारमा निर्माण गर्ने प्रतिबद्धता जनाएपनि स्थानीय सहमत भएका छैनन् ।
वार्तामा सहभागी जनप्रतिनिधि र कर्मचारीले वडा भेलाबाट स्थानको टुंगो लगाएर आउन अनुरोध गरेका छन् ।
प्रकाशित मिति २०८२ वैशाख २४ गते बुधबार ०५:२२




