लमजुङ ।
लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा एक महिनाअघि भएको विभत्स हत्याको रहस्य अझै समाधान हुन सकेको छैन् ।
अस्थायी प्रहरी बिटको नजिकै आफ्नै घरमा बस्दै आउनु भएकी ४७ वर्षीया पूर्व प्रहरी हवल्दार सीता धिताल कंडेलको शव गत चैत ३१ गते घरभित्रको ओछ्यानको प्लाइ भित्र, त्रिपालले बेरिएको अवस्थामा फेला परेको थियो ।
प्रहरी अनुसन्धानअनुसार उनले हत्या चैत २७ गते नै भएको हुन सक्ने देखिएको छ । शव घरभित्र लुकाइएको भए पनि बाहिरबाट ढोका बन्द र चापी लगाइएको थियो, जसले हत्यारा योजनाबद्ध रूपमा आएको अनुमान गर्न सकिन्छ ।
पोस्टमार्टम रिपोर्टले पनि सीता कंडेलको हत्या गरिएको पुष्टी गरेको छ । यद्यपि, घटनाको एक महिना पुगिसक्दा पनि हत्याराको पहिचान सार्वजनिक हुन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहरा भन्छन्, “अनुसन्धान जारी छ । संलग्न व्यक्तिको पहिचान गरिसकिएको छ तर भाग्न नपाओस् भनेर नाम गोप्य राखिएको छ।”
प्रहरीका अनुसार घटनाको दिन एक युवक सीताको घर प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको छ । ती युवकसँग सीताको केही आर्थिक कारोबार रहेको बताइएको छ । घटनापछि उनी सम्पर्कविहीन छन्, मोबाइल बन्द छ, र भारततर्फ फरार भएको अनुमान गरिएको छ ।
कंडेल घरमा एक्लै बस्दै आएका थिए । उनका छोरा र बुहारी अष्ट्रेलियामा छन् । आमासँग लामो समयसम्म सम्पर्क हुन नसकेपछि छोरा अभिनास कंडेलले छिमेकीमार्फत सोधखोज गरेका थिए ।
खोजी गर्दा घर वरिपर दुर्गन्ध आएको थाहा पाएपछि प्रहरी बोलाइएको थियो । प्रहरीले ढोका फोरेर शव फेला पारेको थियो । यस घटनाले लमजुङमा सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ ।
प्रकाशित मिति २०८२ वैशाख २५ गते बिहीबार ०५:३०




