जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने
काठमाडौं ।
जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने उद्देश्यका साथ आयोजित सगरमाथा संवाद आजबाट शुरु हुँदैछ ।
जलवायु परिवर्तनले पारेको प्रभावको समाधानका उपाय खोजिने संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ ।
परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाका अनुसार, सो सम्मेलनमा १७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी हुने छन् ।
कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ। चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना नेपाल आइसकेका छन् भने अन्य मुलुकका विशिष्ट अतिथि आउनेक्रम जारी छ ।
उद्घाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ ।
भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ ।
संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिनेछ ।
उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुने छ । यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय संठनको प्रस्तुति रहने छ ।
आजै छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुने छ । सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ ।
राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढंगको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ ।
नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु संकट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागि संवाद उपयोगीसिद्ध हुने बताइएको छ ।
संयुक्त राष्ट्रसंघले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेका सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइनेछ ।
संवाद जेठ ४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मिति २०८२ जेठ ३ गते शुक्रबार ०९:३०




