पोखरा ।
अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण जेठ २० गते हुने भएको छ ।
आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर म्याराथनवारे जानकारी दिएको हो । पर्यटनका लागि सबै मौसम भन्ने नाराका साथ समितिले नियमित रुपमा म्याराथन आयोजना गदैँ आएको छ ।
अन्नपूर्ण आधार शिविरबाट सुरु भई माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित मेश्रम वराह माविको खेल मैदानसम्म म्याराथन रुट निर्धारण गरिएको छ ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्गोजको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । सोही दिनलाई अन्नपूर्ण आरोहण दिवस मनाउदै आइएको छ ।
आरोहणको ७५ वर्ष भएकाले यस वर्षको अन्नपूर्ण म्याराथनको पाँचौ संस्करण हीरक उत्सवका रुपमा समेत मनाउन लागिएको हो । अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्ने प्रयास गरिएको समितिका अध्यक्ष ललित गुरुङले बताए ।
म्याराथन महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ । हालसम्म १० विदेशी र ५० नेपाली धावकले नाम दर्ता गराइसकेका छन् । नाम दर्ताको लागि १५ जेठ सम्मको समय तोकिएको छ । धावकले नाम दर्ताका लागि ७ हजार रुपैया तिर्नुपर्ने छ ।
प्रतियोगितमा म्याराथन महिला तथा पुरुषतर्फ बिजेताले एक लाख ५० हजार पुरस्कार पाउने छन् । दोस्रो हुनेले एकलाख, तेस्रो हुनेले ७५ हजार नगद पुरस्कार पाउनेछन् । अन्नपूर्ण म्याराथन–२०८२ सम्पन्न गर्नका लागि करिब ३८ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ ।
प्रकाशित मिति २०८२ जेठ ३ गते शुक्रबार ०८:००




