पोखरा ।
गण्डकी प्रदेशका यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरुले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली खारेज नगरे आफ्ना सवारी साधन ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् ।
पोखरामा बिहिबार विरोध सभा गदै व्यवसायीले यस्तो चेतावनी दिएका हुन् । यातायात व्यवसायी महासंघका नेतृत्व र मजदुर संघसंगठनका नेताहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा नेताहरुले गण्डकी सरकारविरुद्ध उत्रने चेतावनी समेत दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले सरकारविरुद्ध अन्तिम लडाइ लड्ने बताए ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डाक्टर डोलनाथ खनालले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नियमावली फिर्ता नगरे आफ्ना गाडी घर ग्यारेजमा थन्क्याउने चेतावनी दिए ।
महासंघ गण्डकीका संयोजक केदार पौडेलले सरकारले व्यवसायीलाई पेलेर जान खोजे राम्रो नहुने चेतावनी दिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सचिव योगेन्द्रबहादुर केसीले १५ गतेसम्म सरकारलाई अल्टिमेटम दिए ।
गण्डकी प्रदेशमा राइड शेयरिङलाई बैधता दिनेगरी मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पास गरेको हो । यसै विषयलाई लिएर यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संगठनहरु आन्दोलित भएका छन् ।
प्रकाशित मिति २०८२ जेठ ९ गते बिहीबार ०७:४२




