काठमाडौं ।
हिमालयन आर्ट क्याम्प २०२५ पुनः शुरु भएको छ ।
शनिबार साँझबाट पाटन संग्रहालय, पाटन दरबार स्क्वायरमा प्रदर्शनी शुरु भएको हो । ई—आट्र्स नेपालले शुरु गरेको हिमालयन आर्ट क्याम्प २०२५ ले स्वदेशी तथा विदेशी कलाकारहरुलाई एउटै प्लेटफर्ममा ल्याइ सांस्कृतिक आदानप्रदान र सिर्जनात्मक संवादलाई प्रोत्साहन गर्नै विश्वास लिइएको छ । प्रदर्शनीमा क्याम्पमा बनाइएका चित्रकलाहरू प्रदर्शन गरिनेछ । नेपाली र विदेशी कलाकारहरूको सहभागिता रहेको यो कार्यक्रमले सांस्कृतिक एकता र सिर्जनात्मकतालाई उजागर गर्ने विश्वास राखिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर विश्व सम्पदा सूचिमा परेको शहर भएको र त्यसको नेतृत्व आफूले गरिरहेको बताए । उनले २०७२ सालको महाभूकम्पबाट मन्दिरहरुमा ठूलो क्षति पुगेपनि अहिले सबै मन्दिरहरु बनिसकेको बताए । नरसिंह मन्दिर पनि अन्तिम चरणमा पुगेको उनको भनाइ थियो । उनले कला, संस्कृति र सभ्यताको विकास र संरक्षणमा ललितपुर महानगरपालिकाले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रदर्शनी मे २८, २०२५ (जेठ १४ गते) सम्म चल्नेछ । ग्यालरी खुल्ने समय दैनिक बिहान ११ बजे देखि साँझ ६ बजेसम्म रहेको छ ।
प्रकाशित मिति २०८२ जेठ १२ गते आइतबार ०९:३६




