काठमाडौं ।
यस वर्षको विपद्मा २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
प्रि–मनसुन शुरू भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेकाले देशभर चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान छ ।
मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ मा २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको हो ।
प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार तथा राहत वितरण गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए ।
यही जेठ १४ गते बस्ने गृहमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा राष्ट्रिय कार्ययोजना पेश हुने जनाउँदै प्रवक्ता केसीले त्यही बैठकबाट पारित भएपछि कार्यान्वयनमा जाने उल्लेख गरे ।
उनकाअनुसार केन्द्र, प्रदेश, जिल्ला र पालिकासम्म कार्य जिम्मेवारी तोकिएको छ । यसपालि प्रस्तावित कार्ययोजनामा हरेक एक÷एक महिनामा विपद्को अवस्थाका विषयमा अनुगमन, मूल्याङ्कन तथा समीक्षासमेत गर्ने योजना अघि सारिएको केसीले बताए ।
यसअघि नेपालमा मनसुनी आँकलन सार्वजनिक भइसकेको छ । मौसम विज्ञान विभागले सार्वजनिक गरेको आँकलनमा वर्षा र अधिकतम तथा न्यूनतम तापक्रम पनि बढी हुने जनाएको छ । त्यही पूर्वानुमानका आधारमा प्राधिकरणले सरोकार भएका सबै निकायका प्रतिनिधि तथा सङ्घ–संस्थासँग सुझाव लिएर विपद् प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार पारेको हो ।
जल तथा मौसम विज्ञान विभागले कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको धेरैजसो भूभाग वर्षाबाट बढी प्रभावित हुनसक्ने उल्लेख गरेको छ । यही जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहनुका साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिए ।
उनकाअनुसार यस मनसुन ऋतुमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।
साथै मधेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
प्रकाशित मिति २०८२ जेठ १२ गते आइतबार ०८:०६




