पोखरा ।
विगत चार दिनदेखि जारी फेवातालको सिमानामा सीमा स्तम्भ गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षण गरेका छन् ।
पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घ सरकारको समेत सक्रियतामा सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम फेवातालको सिमाङ्कन गरी ताल घरमा पोल गाड्ने काम भइरहेको छ ।
फेवाताल संरक्षण, प्राकृतिक तथा जैविक विविधता र पर्यावरणको प्रवद्र्धनमा यस कार्यले निकै महत्त्व राख्ने नगर प्रमुख आचार्यले बताए । फेवातालका बारेमा गरिएका चिन्ता र चासोका बिच तालको संरक्षणमा महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए । ताल नरहे पोखराको शोभा नै हराउने भएकाले तालको संरक्षण आमपोखरेलीहरुको प्रमुख दायित्व हुने उनले उल्लेख गरे ।
पहिलो चरणमा सिमाङ्कन समाप्त गरिएको बताएको उनले दोस्रो चरणमा ताल घरमा पर्ने जग्गाका विषयमा आवश्यक अध्ययन गरिने जिकिर गरे । क्रमशः अदालतको फैसला बमोजिम ६५ मिटर खाली गर्ने प्रक्रिया सुरु गरिने नगर प्रमुख आचार्यको भनाई छ ।
ताल सिमाना पोल गाड्ने कार्यमा प्राविधिक, नगर प्रहरी र अन्य कर्मचारीहरू खटिएका छन् । मङ्गलवार चौँठो दिन बसुन्धारा पार्क क्षेत्रको सिमाना १२ वटा पोलहरू गाडिएका पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिए।
प्रकाशित मिति २०८२ जेठ २१ गते मंगलबार ०८:११




