२०८३ साउन २१ गते बिहीबार

बागलुङमा छ महिना अगावै काम सक्ने निर्माण कम्पनी सम्मानित

बागलुङमा छ महिना अगावै काम सक्ने निर्माण कम्पनी सम्मानित

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ जेठ २५ गते शनिबार ०८:०२

कम्पनीले निरन्तर काम गर्दा छ महिना अगावै काम सम्पन्न गरेको उनको भनाइ छ ।

बागलुङ ।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरको हर्मीचौर–बलेवा खण्ड समय अगावै सम्पन्न गर्ने निर्माण कम्पनी सम्मानित भएको छ ।

बागलुङको जैमिनी नगरपालिकाले छ महिना अगावै काम सम्पन्न गर्ने कालिका कन्स्ट्रक्सन र कालिगण्डकी करिडोर (गैडाकोट–राम्दी–मालढुङ्गा) सडक योजना पाल्पालाई सम्मान गरेको हो ।

निर्माण कम्पनीले २०७९ मंसिर २६ गते सम्झौता गरि २०८२ मंसिर २५ गते सक्ने काम सुरु गरेको थियो । तर जेठ महिनामै काम सम्पन्न गरेपछि सम्मानित भएको हो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले पछिल्लो समय निर्माण कम्पनीप्रति नकरात्मक धारणा बन्दै गएको सन्दर्भमा कालिका कन्स्ट्रक्सनले त्यसलाई चिरेको बताए ।

निर्माण कम्पनी जिम्मेवार बन्दा राज्यले क्षति व्यहोर्नु नपर्ने भन्दै अरु निर्माण व्यवसायिले पनि कालिका कन्स्ट्रक्सनबाट सिक्नु पर्ने उनले उल्लेख गरे । कालीगण्डकी कोरिडोर कालोपत्र भएपछि धेरै नागरिकले सुविधा पाउने उनको भनाइ छ ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले कालिका कस्ट्रक्सन र कोरिडोर आयोजना कार्यालयले इमान्दारपूर्वक काम गर्दा समयमै कालोपत्र गर्न सफल भएको बताए । हर्मिचौर–बलेवा खण्डमा धेरै अप्ठ्यारा भिर पहरा रहेको भन्दै निर्माण कम्पनीले निरन्तर काम गर्दा छ महिना अगावै काम सम्पन्न गरेको उनको भनाइ छ । उपप्रमुख शर्माले आफूहरुले पनि निर्माण कम्पनीका समस्यालाई समाधान गर्न निरन्तर लाग्दै आएको सुनाए ।

कार्यक्रममा कोरिडोर कार्यालय पाल्पाकी प्रमुख कल्पना अधिकारी र कालिका कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर महेश सुवेदीले यस खण्डमा कसैको अवरोध नहुँदा समयमै काम सम्पन्न गर्न सफल भएको बताए । समयमै काम सम्पन्न गर्नुमा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयको ठूलो सहयोग गरेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति २०८२ जेठ २५ गते शनिबार ०८:०२
हजुरको प्रतिक्रिया