बागलुङ ।
बागलुङमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक सञ्जालबाट ठगिने घटनाबाट जोगिन आम नागरिक सचेत बन्नु पर्ने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रशासनका कार्यालय बागलुङको समन्वयमा भएको विद्युतीय अपराध नियन्त्रण सम्बन्धी सचेतनात्मक अन्तरक्रियामा वक्ताहरुले विद्युतीय अपराध पढ्दै गएको हुँदा यसको नियन्त्रणमा प्रहरी प्रशासनसमेत गम्भीर बन्नु पर्ने बताएका हुन् ।
सबैभन्दा बढी ४० वर्ष उमेर समूहका नागरिक विद्युतीय अपराधमा संलग्न र पीडित हुने गरेको वक्ताहरुको भनाइ थियो । उनीहरुले यस्ता खालका कार्यक्रम प्रदेश सरकारले नियमित रुपमा गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बढ्दो सामाजिक संचालको प्रयोगले आम नागरिकको दैनिकीलाई सहज बनाउनुका साथै यसबाट धेरै अपराधसमेत हुने गरेको बताए । सामाजिक सञ्जाल प्रयोगकर्ताले सही रुपमा प्रयोग गर्नु पर्ने सुझाए ।
धेरै नागरिक ‘साइबर अपराध’को सिकार बन्नु परेको उनको भनाइ थियो । विद्युतीय अपराध नियन्त्रणका लागि नागरिक सचेत हुनुको विकल्प नभएको उनले जिकिर गरे ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव ध्रुव गिरीले युवा पुस्ताले बढी सामाजिक सञ्जाल प्रयोग हुँदा उनीहरु बढी प्रभावित हुने गरेको उल्लेख गरे । विद्युतीय अपराध नियन्त्रण गर्नका लागि प्रदेश सरकारले नागरिकलाई सचेत बनाउनेका लागि विभिन्न कार्यक्रमहरु गरि रहेको उनको भनाइ छ ।
प्रकाशित मिति २०८२ जेठ २८ गते मंगलबार ०८:०८




