बागलुङ ।
निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एक मात्र नाका थियो । वि.सं. २०१३ साल अगाडिसम्म बागलुङबासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौँ लगायतका ठाउँमा आवतजावत गर्थे ।
त्यस बेला सडकले बागलुङ जोडिएको थिएन । पोखरा–बागलुङ राजमार्ग निर्माण भएपछि वि.सं. २०५१ सालमा मालढुङ्गामा मोटरेवल पुल बन्यो । त्यसपछि बागलुङवासी खनियाघाटमा पुगेर काली तर्ने बाध्यता हट्यो ।
मालढुङ्गामा बनेको पुलबाट यात्रा गर्न थालेपछि निरयघाट ओझेलमा प¥यो । तत्कालीन जिल्ला विकास समितिले १२ लाख रुपैयाँ विनियोजन गरेर गणेश घुम्तीदेखि सडक निर्माण ग¥यो र ओझेलमा परेको नियरघाटलाई जोड्यो । आर्थिक वर्ष २०६०/०६१ मा खुलेको सोही सडक २० वर्षपछि कालोपत्र भएको छ । विश्व बैंकको लगानीमा “सहरी शासकीय पूर्वधार विकास कार्यक्रम” अन्तरगत गत असारदेखि उक्त सडकको कालोपत्र भएको हो ।
१.६२ किलोमिटर रहेको उक्त सडक कालोपत्र गर्नका लागि गत वर्ष जेठ २५ गते फेवा/आशिष जेभीले जिम्मा पाएको थियो । ७ करोड ५० लाखमा उक्त सडक कालोपत्र गरिएको हो । कालीगण्डकी नदीको तटमा रहेको निरयघाट बागलुङवासीको दाहसंस्कार गर्ने मुख्य घाट अर्थात् दाह स्थल पनि हो । दैनिकजसो सयौँ नागरिक कालीगण्डकीमा स्नान र दाहसंस्कार गर्न पुग्छन् ।
सडक खुलेको दुई दशकसम्म कालोपत्र नहुँदा सबै भन्दा बढी सास्ती मलामीले भोग्नु परेको थियो । सडक कालोपत्र भएपछि त्यसरी सास्ती र सकस खेपेका मलामी मात्र होइन, साँघुरो सडक त्यसमाथि खाल्डाखुल्डी, हिलो र धुलोले वर्षौँदेखि आजित बनेका निरयघाट र माझीबस्तीका स्थानीय पनि खुसी छन् ।
सडकको सहजतापछि निरयघाटमा फेरि एक पटक चहलपहल बढ्ने देखिन्छ । शान्त वातावरण र स्वच्छ हावापानी रहेको निरयघाटमा मानव सेवा आश्रमको भवन निर्माणाधिन अवस्थामा छ भने वृद्धाश्रम बनिसकेको छ । यस ठाउँलाई ध्यान केन्द्रका रुपमा विकाससमेत गर्न सकिन्छ ।
प्रकाशित मिति २०८२ असार ७ गते शनिबार ०८:३४




